६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं, ६ फागुन । नेपालको ऐतिहासिक स्थल लिगलिगकोटमा भोलि लिगलिगे साइकल दौड हुने भएको छ ।

१३औं सागका स्वर्ण बिजेता खेलाडीदेखि प्रदेश र स्थानीय स्तरका खेलाडीसम्म गरी एक सय राइडरले दौडमा प्रतिस्पर्धा गर्ने छन् । लिगलिगे साइकल दौडको दूरी ५२.९ किलोमिटर रहेको छ ।

लिगलिग भिलेज स्पोट्र्सको आयोजना पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा सञ्चालन हुने साइकल दौड प्रतियोगितामा ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ ।

महिला तथा पुरुष खुला दौडको बिजेताले २५ हजार उपविजेताले २० हजार र तृतियले १५ हजार नगद प्राप्त गर्नेछन् । यो दुवै समूहका १० औ स्थानसम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित हुनेछन् । ६ इभेन्टकै एउटै रुट र एउटै दूरी रहेको छ ।

त्यसै गरि गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष साइकल दौडका विजेताले ५ हजार उपविजेताले ३ हजार र तृतीय हुनेले २ हजार ५ सय प्राप्त गर्ने छन् । पालुङटार नगरपालिका स्तरिया महिला तथा पुरुष साइकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ सय, उपविजेताले २ हजार र तृतीय हुनेले एक हजार प्राप्त गर्नेछन् ।

स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताको अनुमानित बजेट ३० लाख रहेको आयोजकले जनाएको छ ।

लिगलिगे साइकल दौडको ५२.९ किलोमिटरको दूरी लिगलिगकोट, हर्मि भन्ज्याङ, आँपपिपल, राइनास, पालुटार,लुइटेल भन्ज्याङ, बड डाँडा, सभा चौतारा हुदै लिगलिगकोर्ट पुगेर दौड सम्पन्न हुनेछ ।

सिरानचोक गाउपालिका र राइनस नगरपालिकाको सह प्रयोजनमा सञ्चालन साइकल दौडको राइडरले उच्चतम हाइट १३ सय ३० मिटरसम्म साइकल ड्राइभ गर्नुपर्ने रुट रहेको छ भने न्यूनतम हाइट ४ सय २० मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV