६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्व पीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताउनुभएको छ ।

आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरुसँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल र सरकारका उच्चपदस्थ अधिकारीसहितको उक्त छलफलमा प्रधानमन्त्रीले भन्नु भयो, ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत् द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानुपर्छ ।’

छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसिवीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गर्नुभयो । ‘जता पट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उसका अभिभावक उसमा आश्रित् सन्तानको पीडाहरु उस्तै उस्तै छन्’, उहाँले भन्नुभयो ।

पेन्सन आदि केही पनि नपाउने द्वन्द्व पीडितको परिवार अरु भन्दा बढी समस्यामा रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो । द्वन्द्वरत कुनै पक्षमै नभएका राजनीतिक कार्यकता र सर्वसाधारण जनता पनि थुपै संख्यामा पीडित रहेको उहाँले बताउनुभयो । ‘यि सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ’, प्रधानमन्त्रीले भन्नुभयो ।

जुनसुकै तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि प्रधानमन्त्रीले बताउनु भयो । ‘अब क्षमा गर र विर्स’को भावबाट जानुपर्छ’, प्रधानमन्त्रीको भनाइ थियो । यद्यपि मैना सुनारको जस्तो जघन्य र गम्भीर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजायँ पाउने पनि प्रधानमन्त्रीले बताउनु भयो ।

द्वन्द्वमा मृतकका परिवार वा घाइते बाहेक बहिर्गमित लडाकुकोसमेत अर्को खालको समस्या रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । ‘तीन चार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले सुरुमा देखेको सपना भाँच्चिइसकेको हुन्छ । उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन’, प्रधानमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा द्वन्द्व पीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रिता सेनले सशस्त्र द्वन्द्व कालमा आफ्नो कर्तव्य पालन गर्दा कुल दुई हजार ८ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको बताउनुभयो । ती सुरक्षाकर्मी आश्रित् परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेकोे पनि उहाँले उल्लेख गर्नुभयो ।

‘ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्च हुनेछ, उहाँको भनाई थियो ।

सरकारले मृतक सुरक्षाकर्मीलाई शहिद घोषणा गरे पनि आफूहरुले त्यसबापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV