६ फाल्गुन २०७७, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), ६ फागुन । वीरगन्जस्थित नारायणी रंगशाला संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । २०४२ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गको पहलमा निर्माण गरिएको नेपालको दोश्रो रंगशालाका प्याराफिटहरु संरक्षणको अभावमा जीर्ण बनेको छ ।

उक्त स्थल लागूऔषध दूर्व्यसनीको केन्द्रविन्दू समेत बनेको छ । लागूऔषध दूर्व्यसनी युवाहरु उक्त ठाउँमा गएर जुवातास खेल्नुको साथै लागूऔषध सेवन पनि गर्ने गरेका छन् । रंगशालाको प्याराफिटका रडहरुलाई स्थानीय नागरिकहरुले फोडेर लगेका कारण पनि रंगशाला जीर्ण बन्दै गएको हो ।

नारायणी रंगशालामा २०५५ सालयता कुनै किसिमको राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता समेत हुन सकेको छैन । रंगशालालाको संरक्षण गर्नका लागि उक्त स्थानमा मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति छ, जहाँ ९ जना कर्मचारीसमेत कार्यरत छन् ।

तर, उनीहरुले प्रशासनिक काम बाहेक संरक्षणप्रति ध्यान नदिएको कारण पनि रंगशाला खेलकुद भन्दा पनि लागूऔषध दुर्व्यसनीहरुको अड्डा बन्दै गएको छ । विहान व्यायम गर्न जाँदा पनि लागूऔषध दुव्र्यसनीहरु प्याराफिटको मुनी लुकेर लागुऔषध सेवन गरिरहेका हुन्छन् ।

दिउँसो तथा साँझमा बढी युवाहरु त्यहाँ गएर लागूऔषध सेवन गर्ने गरेका छन् । खेलकुदका लागि रंगशालामा पुग्दा खेलाडी भन्दा पनि अन्य व्यक्तिहरुको बढी उपस्थिति हुने गरेको कारण खेलकुदमा समस्या हुने गरेको खेलाडीहरु बताउँछन् । यहाँ कतिपटक खेलाडी र लागूऔषध दुव्र्यसनीहरुसँग झगडा समेत भइसकेको छ ।

सुरक्षाको अवस्था पनि नाजुक छ । यसरी लागूऔषधकर्ताहरुको अड्डा बनेको स्थानमा प्रहरी प्रशासनको आँखा नपुगेको कारण पनि रंगशाला खेलाडीहरु भन्दा पनि लागूऔषधकर्ताहरुको अड्डा बनेको छ ।

दिउँसै भीआईपी प्याराफिटमाथि बसेर युवाहरु लागूऔषध सेवन, चुरोट खाने, गाँजा खाने, चुरोटमा गाँजा राखेर खाने, हुक्का खाने जस्ता लागूपदार्थहरु सेवन गर्ने गरेका छन् । जसले गर्दा अन्य सर्वसाधारणहरुलाई व्यायम गर्न जान पनि समस्या हुने गरेको छ ।


अर्कोतर्फ रंगशालाको चारैतर्फको प्याराफिट पनि जीर्ण बनि सकेको छ । जीर्ण बन्दै गएको रंगशालालाई पुनः निर्माणका लागि २५ लाखको लागतमा डीपीआर पनि तयार गरिएको छ तर, त्यो डीपीआर अनुसार काम भने हुन सकेको छैन ।

डीपीआर अनुसार २ अर्व ६४ करोडको लागतमा पुनः निर्माण हुनुपर्ने नारायणी रंगशालामा नेपाल सरकारले चाहेजति बजेट नछु्ट्याएको कारण पनि रंगशाला पुनः निर्माण हुन सकेको छैन ।

नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ मा ७५ लाख र ५० लाख गरि १ करोड २५ लाख बजेट छुट्याएको थियो । उक्त रकमले रंगशालाको जग्गा संरक्षणका लागि पर्खाल र कार्यालयको मर्मत सम्भार गरिएको थियो ।

तर, डीपीआर अनुसारको भौतिक संरचना निर्माणका लागि २०७६/७७ मा ७ करोड बजेट छुट्याइएको थियो । तर, कोरोना संक्रमण महामारीको कारण कुनै काम हुन नसक्दा उक्त बजेट फ्रिज भएको थियो ।

त्यस पश्चात २०७७/७८ मा सोही बजेटमा अहिले प्याराफिट निर्माण गर्ने कार्य भइरहेको छ । रंगशालाको दक्षिणतर्फ रहेको ८० मिटर प्याराफिट पुनः निर्माणको कार्य भइरहेको छ ।

नेपाल सरकारले टुक्रा टुक्रा बजेट छुट्याउने गरेको कारण डीपीआर अनुसारको रंगशाला निर्माण गर्न दशकौ समय लाग्ने अवस्थालाई मध्यनजर गर्दै त्यहाँका पदाधिकारीहरुले ११ औं राष्ट्रिय प्रतियोगिता प्रदेश २ को वीरगन्जस्थित नारायणी रंगशालामा गर्ने तयारीमा जुटेका छन् ।

नारायणी रंगशालाको भौतिक संरचना पूर्ण रुपमा पुनः निर्माणको लागि राष्ट्रिय प्रतियोगिता नभई नहुने भएकोले खेलकुद क्षेत्रसँग आबद्ध संस्थाका पदाधिकारीहरु आगामी ५ वर्ष पश्चात हुने ११ औं राष्ट्रिय प्रतियोगिताको लागि गृहकार्यमा जुटेका छन् ।

मुलुक संघीयतामा गएपश्चात नेपाल सरकारले प्रत्येक प्रदेशमा एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्नुपर्ने योजना ल्याएसँगै प्रदेश २ सरकारको बद्मासीको कारण पनि नारायणी रंगशालामा ओझेलमा परेको हो ।

नारायणी रंगशालाको आफ्नै स्वामित्वमा रहेको १८ विगहा जग्गा, भौतिक संरचना तथा डीपीआर समेत तयार भइसकेकोलाई वेवास्ता गर्दै प्रदेश सरकारले जनकपुरमा भाडामा जग्गा लिएर रंगशाला निर्माणमा जुटेको कारण पनि नारायणी रंगशाला झन जीर्ण हुन पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV