६ फाल्गुन २०७७, बिहीबार
  • कृष्ण थपलिया,

सर्लाही, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले मधेस केन्द्रित दलहरुलाई संयुक्त आन्दोलनका लागि अपील गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले आफू प्रधानमन्त्री हुँदा संविधान संसोधनको प्रस्ताव लगेको स्मरण गर्दै अपूरो संविधान परिमार्जनकै पक्षमा आफूहरु रहेको तर्क गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको हत्या गरेर निरङ्कुशता लाद्न खोजेको उहाँको आरोप छ ।

विहीबार सर्लाहीको हरिपुर नगरपालिका–१, हजारविगाहमा आयोजित पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य डाचाराज वाग्लेको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै अध्यक्ष दाहालले सुदखोरहरुको मिटर ब्याजबाट प्रताडित महिलाहरुको पक्षमा आवाज बुलन्द बनाउदै उनीहरुलाई न्याय दिलाउने काममा अग्रसर वाग्ले वर्ग संघर्सको अभियान चलाउने योद्धा रहेको स्मरण गर्नुभयो ।

उहाँले लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जित सुनिश्चित गर्न पहिलेको भन्दा दृढता सङ्कल्पका साथा अघि बढ्न आग्रह पनि गर्नुभयो । श्रद्धाञ्जलि सभालाई सम्वोधन गर्दै पार्टीका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीद्वारा संविधान कुल्चिने काम भएकाले आफूहरु यो कदमको विरुद्धमा उभिएको बताउनुभयो ।

अध्यक्ष नेपालले संसद् विघटनको विरोधमा पार्टीले बरहथवामा आयोजना गरेको मसाल जुलुसमा सहभागी भई बागमती फर्केका वाग्लेको रहस्यमय मृत्यु भएकाले यसलाई गम्भीरतापूर्वक लिएर सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको दायरामा सरकारसँग मागसमेत गर्नुभयो ।

नेकपा जिल्ला अध्यक्ष रेवती पन्तको अध्यक्षतामा भएको श्रद्धाञ्जलि सभालाई पार्टीका प्रवक्ता एवं केन्द्रीय सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादव, पूर्वमन्त्री रामेश्वर रायलगायतले सम्वोधन गर्नुभएको थियो ।

स्वर्गीय वाग्लेकी श्रीमती सरस्वती मिश्र वाग्लेले सभालाई सम्वोधन गर्दै श्रीमानको अधुरो रहेका सपना पूरा गर्न आफू सक्रिय राजनीतिमा आउने उद्घोष गर्नुभयो । नेकपा जिल्ला इन्चार्ज वाग्ले गत माघ २१ गते राति बरहथवा नगरपालिका–९ स्थित मूर्तीया जङ्गलमा मृत फेला पर्नुभएको थियो ।

स्व.वाग्लेको मोटरसाइल क्षतबिक्षत अवस्थमा थियो । नेकपाले वाग्लेको मृत्युलाई रहस्यमय भन्दै आएको भएपनि प्रहरीले मृत्युको कारण र दोषी पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV