५ फाल्गुन २०७७, बुधबार
  • सुजन पुडासैनी,

मकवानपुर, ५ फागुन । नेकपा दाहाल–नेपाल समूह बागमती प्रदेश संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रदेशसभाको बैठक पटकपटक सूचना टाँसेर स्थगित गर्नु संघीयताको मर्ममाथि प्रहार भएको बताउनु भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक बिहान सूचना टाँसेर स्थगित गरेको विषयमा दाहाल–नेपाल समूहले प्रदेशसभा सचिवालयमा बुधबार पत्रकार सम्मेलन गरेर विरोध जनाएको हो ।

अल्पमतमा रहेको सरकारको दबाबमा आएर सभामुखले प्रदेशसभाको बैठक पटकपटक स्थगित गर्नु संघीयता मर्ममाथिको प्रहार भएको नेतृ शाक्यको ठहर छ ।

नेतृ शाक्यसहित दाहाल नेपाल समूहका प्रदेश सभा सदस्यहरुले सभामुखले सत्तापक्षको दबाबमा बैठक स्थगित गरेको आरोप लगाउँदै उपसभामुख मार्फत प्रदेशसभा सचिवलाई विरोध पत्र बुझाएका हुन् ।

उहाँले अल्पमतमा रहेको सरकारको संरक्षण नगर्न र दबाबमा नपरी तत्काल बैठक बोलाउन समेत सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गर्नुभयो ।

मंगलबार दाहाल–नेपाल समूहको दबाब र सर्वदलीय बैठकपश्चात् प्रदेशसभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका सभामुख श्रेष्ठले सत्तापक्षको दबाबका कारण पुनः बैठक स्थगित गरेको नेतृ शाक्यको टिप्पणी छ ।

मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्ध पुष १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । प्रदेशसभामा अविश्वासको प्रस्ताब टेबुल गरिएपछि प्रदेश सभाको बैठक दुई पटक सूचना टाँसेर स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV