४ फाल्गुन २०७७, मंगलवार
  • तारा आचार्य,

विराटनगर, ४ फागुन । झी पुचः विराटनगरले सामूहिक रुपमा बेल विवाह कार्यक्रम आयोजना गरेको छ । धार्मिक तथा सांस्कृतिक रुपमा गर्नै पर्ने रीतिरीवाजहरुलाई कम खर्चिलो र व्यवहारिक बनाउन सामूहिक बेलविवाह कार्यक्रम आयोजना गरेको हो ।

नेवारी संस्कृति अनुसार ५ देखि ११ वर्ष उमेरभित्र गर्नैपर्ने परम्परागत इही अर्थात बेल विवाह विराटनगरमा सामूहिक रुपमा सम्पन्न गरिएको छ । सामूहिक बेल विवाहमा २० जना बालिकाहरुको धार्मिक परम्परा र विधिपूर्वक इही गरिएको छ ।

धार्मिक विधि र परम्परा जोगाई राख्न प्रत्येक वर्ष सामूहिक बेल विवाह कार्यक्रम आयोजना गर्ने गरिएको झी पुचः विराटनगरका पूर्व अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

यस वर्ष कोरोना महामारीको प्रभाव अझैं पनि रहेकाले २० जना मात्र बालिकाहरुको बेल विवाह कार्यक्रम सम्पन्न गरिएको झी पुचः विराटनगरका महासचिव शरद श्रेष्ठले जानकारी दिए । उनले सामूहिक बेलविवाहमा मोरङ, झापा, सुनसरी, धनकुटा देखि स्पेन सम्मका बालिकाहरुको सहभागिता रहेको बताए ।

सामूहिक बेलविवाहमा सहभागी भए वापत प्रति बालिका ५ हजार रुपैया लिइएको थियो । दुई दिनसम्म आयोजना हुने इही जस्तो धार्मिक तथा सांस्कृतिक कार्यक्रम सामूहिक रुपमा गर्नाले फजुल खर्च जोगिएको सम्बन्धित अभिभावकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV