४ फाल्गुन २०७७, मंगलवार
  • दान बहादुर बुढा,

मुगु, ४ फागुन । हिमाली जिल्ला मुगुमा आज दोस्रो चरणको खोप अभियान अन्तर्गत १ सय बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । जिल्ला अस्पताल मुगुका अनुसार पहिलो प्राथमिकतामा रहेकालाई आज (मंगलबार) १ सय २० जनालाई कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाइएको हो ।

जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढाका अनुसार आज सोरु गाउपालिकाको सोरुकोटमा ४० जना र जिल्ला अस्पतालमा ८० जना गरी १ सय २० जनाले कोरोना खोप लगाएका हुन् ।

उनका अनुसार सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी तथा अन्य नागरिकलाई पनि कोरोना खोप लगाइएको हो । जिल्लाको चार वटै स्थानीय तहलाई पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।

जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख बुढाका अनुसार जिल्ला अस्पताल ठिनी, छाइल, पुलु, सोरुकोट, र खत्याडका स्वास्थ्य चौकीबाट खोप अभियान सञ्चालन गरिएको छ ।

जिल्लाको दक्षिणी भेगमा पर्ने खत्याड गाउपालिकाको लागि ६० डोज मात्र खोप प्राप्त भएको स्वास्थ्य शाखाका हरि बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV