२ फाल्गुन २०७७, आईतवार

काठमाडौं, २ फागुन । वि.सं. २०७२ बैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उ्दघाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रवलीकरणमार्फत् भवनलाई भूकम्पबाट सुरक्षित रुपमा पुनर्निर्माण गरिएको बताए ।

उनले भने, “हामीले मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुनेगरी पुनर्निर्माण गरेका छौं । साथै, अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा रहनेगरी हालको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मौजुदा संगठन संरचनाअनुरुप कार्यकक्ष तथा बैठक कक्षहरु निर्माण गरिएको छ ।”

पुनर्निर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडाहरु वि.सं. २०३० को आगलागीमा परेपछि वि.सं. २०३७ सालमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरी पुरानै स्वरुपमा पुनर्निर्माण गरिएको थियो ।

भौतिक प्रवलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपतकालीन तथा अग्नी नियन्त्रक संयन्त्रका अलावा कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकुलन प्रणाली जडान गरिएको छ ।

सिंहदरबार पुनर्निर्माणको कार्यान्वयनको गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् यी मोहडाको पुनर्निर्माणमा हालसम्म भ्याटबाहेक ८७ करोड रुपैयाँ खर्च भएको छ ।

सिंहले उत्तर, दक्षिण र पुर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु जस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ हरु प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रवलीकरण गरिएको जानकारी दिए ।

निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको हो भने शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जे.भी. ले दोस्रो चरणको काम गरेको हो ।

प्रवलीकरण भइरहेको छ पश्चिम मोहडा

आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्रीहरु प्रयोग गरी प्रवलीकरण भइरहेको छ । यो भागलाई भत्काएर नयाँ बनाउने वा प्रवलीकरण गरी पुनर्निर्माण गर्ने विषयमा आवश्यक अध्ययन तथा विज्ञहरुबीच छलफलले समय लिएको थियो ।

अन्तत्वगत्वा, सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरुपमै बचाउन प्रवलीकरण नै गर्न उपर्युक्त भएको निश्कर्ष आएपछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट प्रवलीकरण गर्ने कार्य भइरहेको छ ।

२०७६ असोज २७ बाट सुरु भएको पश्चिम मोहडाको पुनर्निर्माण कार्यको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ । भ्याट बाहेक करिब ४६ करोड ८८ लाख रुपैयाँमा शर्मा(गौरी पार्वती–न्यू टेक्निकल जे. भी.ले प्रवलीकरण गरिरहेका छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV