२ फाल्गुन २०७७, आईतवार
  • कृष्ण थपलिया,

सर्लाही, २ फागुन । नेपाली काँगे्रसका उपसभापति विमलेन्द्र निधीले नेपालका कम्युनिष्टहरुले रणनैतिक लोकतन्त्र मात्र स्वीकार गरेका बताएका छन् । उनले नेपाली कांग्रेस कम्युनिष्ट जस्तो ढोंगी लोकतन्त्रवादी पार्टी नरहेको तर्क गरेका छन् ।

उपसभापति निधीले गत निर्वाचनमा जनताले ढोंगी लोकतन्त्रवादीलाई बहुमत दिएकाले मुलुकमा लोकतन्त्र खतरामा परेको तर्क गर्दै बबुलको वृक्ष रोपेर फलको आष गर्न नहुने बताए ।

लोकतान्त्रिक पार्टी काँग्रेसलाई अदालतले सुनाउने निर्णय स्वीकार्य हुने निधीले बताए । पार्टीद्वारा आइतबार (आज) सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जमा आयोजित आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।

संसद् विघटनको सवालमा काँग्रेस सर्वोच्च अदालतको फैसला कुरेर बसिरहेको बताएका छन् । अदालतले निर्वाचनको पक्षमा फैसला गरे काँग्रेस त्यसलाई स्वीकार गरेर निर्वाचनको तयारीमा लाग्ने र संसद् पुनस्र्थापनाको पक्षमा फैसला गरे अझ सशक्त भएर संसदमा प्रस्तुत हुने निधीको भनाइ छ ।

उपसभापति निधीले कार्यकर्ताहरुलाई पनि अदालतको निर्णय पर्खन आग्रह गरे । तर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक रहेकाले यसको विरुद्धमा भने काँग्रेसले प्रदर्शन जारी नै राख्ने काँग्रेस उपसभापति निधीको भनाइ छ ।

पूर्व गृहमन्त्री समेत रहेका नेता निधीले कम्युनिष्ट र मधेसवादी दलका कारण देशमा सङ्कट पैदा भएको आरोप लगाउँदै लोकतन्त्रको रक्षा र विकासका निम्ती अबको निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गरे ।

सभामा पार्टी प्रवेश गरेकाहरुले चन्द्रनगर गाउँपालिकामा तानाशाह प्रवृत्ति लादिएको गुनासो गरे । नेता निधीले राणा र राजाहरु फालेको देशमा स्थानीय तानाशाहीहरुलाई आगामी निर्वाचनबाट काँग्रेसले परास्त पार्ने दावी गर्ने बताए ।

कांग्रेस चन्द्रनगर गाउँ सभापति जयसिंह दनुवारको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु रामकृष्ण यादव, महालक्ष्मी उपाध्याय, शम्भुलाल श्रेष्ठलगायतले सम्वोधन गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV