२ फाल्गुन २०७७, आईतवार

पोखरा, २ फागुन । गरिमा विकास बैंक लिमिटेडको १४ औं साधारणसभा सम्पन्न भएकाे छ । माघ ३० गते सम्पन्न सभाले  शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारणसभा सम्पन्न भए पश्चात बसेको विकास बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुँजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेको थियाे । २०७७ माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV