२ फाल्गुन २०७७, आईतवार

एजेन्सी, २ फागुन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनह्याम हटस्परमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको सहज जित दिलाउनको लागि इल्केए गुन्डोगानले दुई तथा रोड्रीले एक गोल गरे । खेलको २३औं मिनेटमा रोड्रीले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । गोलरक्षक ह्युगो लोरिसले पेनाल्टी बक्समा रोड्रीलाई लडाएपछि सिटीले पेनाल्टी पाएको थियो ।

५०औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले रहिम स्टर्लिङको पासमा गोल गरेका थिए ।६६औं मिनेटमा गुन्डोगानले गोलरक्षक इडर्सन मोराएसको लामो पासलाई सदुपयोग गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै सिटीले उपाधि यात्रालाई बलियो बनाउदा दोस्रो स्थानमा रहेको लेस्टर सिटीलाई ७ अंकले पछि पारेको छ । २३ खेलबाट शीर्षस्थानको सिटीको ५३ अंक छ । दोस्रो स्थानको लेस्टरको ४६ अंक छ । पराजित टोटेनहम ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV