१ फाल्गुन २०७७, शनिबार

एजेन्सी, १ फागुन । फ्रान्समा प्राचीन सिकारीहरूले प्रयोग गरेको शङ्ख भेटिएको छ । उक्त शङ्ख सत्र हजार वर्षभन्दा पुरानो रहेको जनाइएको छ ।उक्त शङ्ख ठूलो खालको समुद्री शङ्खेकीराको खबटो रहेको बताइएको छ । शङ्ख ३१ सेन्टिमिटर लामो र १८ सेन्टिमिटर चौडा रहेको जनाइएको छ।

दक्षिण फ्रान्समा प्राचीन घुमन्ते सिकारीहरूले प्रयोग गरेको गुफामा त्यो शङ्ख फेला परेको छ । बीबीसीका अनुसार धेरै ठाउँमा हड्डीबाट बनेका प्राचीन वाद्ययन्त्र भेटिने गरेका भए पनि उक्त शङ्ख त्यस किसिमको सबैभन्दा पुरानो वस्तु हो।साइन्स एड्भान्सेज जर्नलमा उक्तबारे विवरण प्रकाशित भएको छ। उक्त शङ्खभित्र कुँदिएका बिन्दुजस्ता चिह्नलाई विशेष मानिएको छ।

‘ती चिह्नहरू पिरनीज पर्वतीय क्षेत्रमा अवस्थित मार्सूला गुफाको भित्तामा भेटिएका कलाकृतिसँग मिल्दोजुल्दो देखिन्छन्। उक्त शङ्ख सन् १९३१ मा त्यहीँ भेटिएको थियो। यसबाट यो शङ्खबाट निकालिने सङ्गीत र भित्तामा भएका चित्रहरू, आकृतिहरूबीच बलियो सम्बन्ध भएको देखिन्छ’,टूलूज विश्वविद्यालयका जील तोसेलोले भने।

उनका अनुसार युरोपेली प्रागितिहासमा सङ्गीत र गुफाको कलाबीच सम्बन्ध भएको प्रमाण देखाउन सकिने यो नै थाहा भएसम्म पहिलो अवसर हो। यो शङ्ख प्रशान्त महासागरमा पाइने एउटा ठूलो खाले शङ्खेकीराको खबटो भएको विश्वास गरिएको छ। शङ्ख समुद्री किनाराबाट २०० किलोमिटर पर भटिएको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV