उपत्यका बाहिरका म्यानपावरमा विभागको अनुगमन तीव्र, एजेन्टहरूको भागाभाग



प्रकाशित मिति : Feb 13, 2021
  • लोकराज रूम्दाली

काठमाडौं, १ फागुन । पछिल्लो समय वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) का शाखा कार्यालयमा अवैध गतिविधि बढ्न थालेपछि वैदेशिक रोजगार विभागको टोली उपत्यकाबाहिर रहेका म्यानपावर कार्यालयमै पुगेर अनुगमन तीव्र रुपमा अघि बढाइरहेका छन् ।

शुक्रबार विभागको आकस्मिक अनुगमन टोली इटहरी पुगेर त्यहाँ रहेका म्यानपावरका शाखा कार्यालयहरुमा अनुगमनको काम तीव्र रुपमा गरिरहेको विभागका सूचना अधिकारी टिकामणि न्यौपानेले न्युज २४ नेपाललाई जानकारी दिए ।

उनले भने, ‘अनुगमन अधिकृत कुशल बरालको नेतृत्वमा विभागको टोली शुक्रबार इटहरी पुगेको छ । शुक्रबार त्यहाँ रहेका केही म्यानपावर कम्पनीमा अनुगमन गरिएको छ । तर, यकिन रुपमा जानकारी आइसकेको छैन ।’

यस विषयमा अनुगमन अधिकृत बराललाई सम्पर्क गर्दा सायद व्यवस्तताका कारण उनले फाेन उठाएनन् ।

शुक्रबार इटहरी पुगेर म्यानपावर शाखामा अनुगमनको काम तीव्र पारेको विभागको टोलीले विभागबाट अनुमति लिएर इटहरीमा संचालित १० म्यानपावर कम्पनीका शाखा कार्यालयको अनुगमन गरेको जनाइएको छ ।

अनुगनका क्रममा विभागको इटहरीमा सञ्चालनमा रहेको मेमोरिएल ओभरसिज प्रा. लि. को लाइसेन्स नम्बर १५६/०५६/७७० को शाखा कार्यालयले अवैध रुपमा पासपोर्ट संकलन गर्ने, रकम असुल्ने गरेको पाइएका कारण कार्यालय शिल गरिएको जनाइएको छ ।

यसैगरी एच आर इन्टर्नेशनल प्रा.लि.ले विभागबाट शाखा कार्यालय खोल्न अनुमतिका लागि निवेदन दिएको बताए पनि अनुमति पत्र नभेटिएकले तत्काललाई शाखा कार्यालय बन्द गर्न लगाइएको जनाइएको छ ।

शुक्रबार विभागको टोली इटहरीका अवैध रुपमा सञ्चालन भएका शाखा कार्यालमा पुग्दा कमाउधन्दा मच्चाइरहेका एजेन्टहरु सटर बन्द गरेर भागेको समेत जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com