१ फाल्गुन २०७७, शनिबार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा), १ फागुन । वीरगन्जका उद्योगी व्यापापारीहरुले आन्तरिक राजस्व कार्यालयमा कर तिर्न जाँदा अनावश्यक झन्झट व्यहोर्नु परेको गुनासो गरेको छन् । आन्तरिक राजस्व विभागद्वारा शुक्रबार वीरगन्जमा आयोजित ‘आर्थिक ऐन २०७७ ले प्रदान गरेका छुट तथा सुविधा’ सम्बन्धी विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै वीरगन्जका उद्योगी व्यवसायीहरुले कर तिर्न कार्यालयमा जाँदा कर्मचारी अभाव तथा व्यवस्थित तरिकाले काम नहुने गरेको र कार्यालय नै माछाबजारजस्तो भएको गुनासाे गरेका हुन् । साेही कारण एउटा कामको लागि दुई हप्तासम्म कार्यालय धाउनुपर्ने अवस्था रहेको उनीहरूकाे भनाइ थियाे ।

व्यापार व्यवसाय गर्ने उद्योगी व्यापारीहरुले आफ्नो व्यावसाय सञ्चालन गर्ने कि दिनहुँ कर कार्यालय धाउने ? एउटा सामान्य उद्योग दर्ता गराउन जाँदा विभिन्न प्रकारको कागजात माग गर्ने र कर्मचारीहरुले अनावश्यक दुःख दिने गरेको कारण पनि युवाहरु व्यापार व्यवसायतर्फ आकर्षित हुनुभन्दा खाडी मुलुक जान मन पराई रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको उनीहरूकाे भनाइ थियाे । मुलुकमा सबै काम अनलाइन सिस्टमले भइरहेको कारण आन्तरिक राजस्व विभागले ल्याएको अनलाईन काम-कारबाहीलाई अझै प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिएका दिए ।

वीरगन्जस्थित आन्तरिक राजस्व कार्यालयको काम कार्यवाहीप्रति असन्तुष्ट जनाउँदै व्यापारीहरुले यहाँ बुझाइएको कागजातहरु पनि सुरक्षित नरहेको आरोप लगाएका छन् । कुनै पनि कामको लागि कार्यालय जाँदा कर्मचारीहरुले कागजी प्रक्रियामा नै दुई हप्तासम्म अल्झाउने गरेको कारण व्यापारीहरुले अनावश्यक दुःख भोग्नु परि रहेको भन्दै उनीहरुले व्यापारीहरुलाई सहज तरिकाले कर बुझाउन वातावरणको सृजना गर्नुपर्ने माग गरेका छन् । अडिट गराउन चार्टर एकाउन्टेण्ट कहाँ जानुपर्छ, वीरगन्जमा त्यस्ता व्यक्तिहरुको खाँचो छ, भएका व्यक्तिहरुको हजारौं कागजात पुग्ने गरेको छ, जसबाट कागजी प्रक्रिया पुर्याउन समस्या भइरहेकोले सरकारलाई तिर्नुपर्ने कर कम्तिमा सहुलियत तरिकाले बुझाउन वातावरण मिलाईदिनुपर्ने विभागसँग माग गरेका छन् ।

कर्मचारी अभाव

ठूलठूला व्यापारीहरुलाई कर तिर्नका लागि कागजात प्रक्रिया पुरा गर्नका निम्ति नै कर्मचारी अभाव भएकाे, नर्सरीदेखि मास्टरसम्म पढ्दा स्नातक तहको तेश्रो वर्षमा मात्रै कर सम्बन्धी पढाई हुने गरेको कारण पनि करसम्बन्धी जानकार जनशक्ति उत्पादन हुन नसकेको भन्दै उद्योगी व्यापारीहरुले आन्तरिक राजस्व विभागले शिक्षा मन्त्रालयसँग समन्वय गरि विद्यालय स्तरबाट नै कर सम्बन्धि पढाईको व्यवस्था मिलाउनुपर्ने बताए । उनीहरुले कर सम्बन्धी जनस्तरमा जानकार नभएसम्म कर बुझाउनमा समस्या हुने भएकोले तत्कालको लागि कम्तिमा स्थानीय स्तरमा कर सम्बन्धी जनचेतनाको कार्यक्रम संचालन गर्नुपर्ने कुरामा जोड दिए ।

स्थानीय तह, प्रदेश तथा संघ तिनै तहका सरकारले उद्योगी व्यापारीहरुमाथि कर लाद्ने होड्बाजी चलेको अवस्थामा नेपाल सरकारले कर तिर्नेबारे स्पष्ट नीति बनाउनुपर्ने भन्दै १० महिनादेखि केरुङ्ग नाकामा व्यापारीहरुको सामान थन्केर रहेको अवस्थालाई पनि सरकारले ध्यान पु¥याईदिनुपर्ने बताए । व्यापारीहरुसँग सरकारले कर मात्रै असुली गर्ने मनोवृत्तिलाई परिवर्तन गर्दै सरकारले व्यापारीहरुको लागि आफूले गर्नुपर्ने कर्तव्यप्रति पनि इमान्दार हुनुपर्ने भन्दै व्यापारीहरुले कमाए मात्रै सरकारलाई कर तिर्ने भएकोले तिनीले व्यापार गर्दा उत्पन्न हुने समस्यालाई समाधान गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

सीमा व्यापारमा समस्या

नेपाल भारत सीमामा व्यापार गर्दा हुने गरेको समस्याको विषयमा बोल्दै व्यापारीहरुले यहाँ प्रहरीले पनि व्यापारीहरुलाई अनावश्यक दुःख दिने गरेको आरोप लगाएका छन् । सिमा क्षेत्रमा नेपालबाटै नेपालमा सामान पठाउँदा भ्याट बिल हुँदा पनि यो सामान भारततर्फ गइरहेको भनेर प्रहरीले समातेर भन्सार बुझाउने गरेको कारण पनि व्यापारीहरुले अनावश्यक समस्या भोग्नुपरेको भन्दै एक ठाउँबाट अर्को ठाउँमा सामान पठाउँदा नेपाल सरकारले लागु गरेको भिजिटेशलाई खारेज गर्नुपर्ने बताए । उनीहरुले नेपालबाटै नेपालमा सामान पठाउँदा भिजिटेश देखाउनुपर्ने बहानामा पनि सुरक्षाकर्मीले अनावश्यक दुःख दिने गरेकोले त्यसलाई खारेज गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

यसैगरि कार्यक्रममा सहभागी आन्तरिक विभागका निमित्त महानिर्देशक गजेन्द्र ठाकुरले यहाँका व्यापारीहरुले उठाएको समस्या समाधानको लागि विभागमा पहल गर्ने प्रतिबद्धता जनाए । वीरगन्ज आफैमा औद्योगिक नगरी पनि भएको कारण यहाँ दिनहुँ आन्तरिक राजस्व कार्यालयमा कर बुझाउन भीडभाड हुने गरेको छ, कर बुझाउन सहज वातावरण मिलाउनुपर्ने दायित्व विभागको रहेकोले यसबारे चाँडै पहल गरिने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायत बारा, पर्सा तथा रौतहटका उद्योगी व्यापारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV