विद्यार्थीको भविष्यप्रति अलमलिएको शिक्षा मन्त्रालय



प्रकाशित मिति : Feb 13, 2021

  • सुजन तिमल्सिना

कोभिडको प्रभावले गत वर्षको शैक्षिकसत्र खलबलिए पनि हालको शैक्षिक सत्रलाई पूर्ण कार्यनयनका साथ अगाडि बढाउन जरुरी देखिन्छ । कोभिडको प्रभावले गत वर्ष १ देखि ९ कक्षासम्मको परीक्षा लिइएको र कक्षा १० को परिक्षा “एस ईइ” आन्तरिक मुल्यांकनमार्फत विद्यालयले पठाएको अङ्क अनुसार मूल्यांकन गरिएको थियो ।

कोभिडको प्रभावले अस्तव्यस्त बनाएको त्यस परिस्थितिमा शिक्षाभन्दा स्वस्थ्य नै सबैका लागि महत्त्वपूर्ण विषय रहेको थियो । त्यसबाट जोगिनु नै गत वर्षको र हालसम्मको परिस्थिति नियाल्ने हो भने पनि कोभिडबाट सजक, सचेत रहनु नै महत्त्वपूर्ण कुरा हो । त्यस अवस्थामा सरकारले चरणबद्ध रूपमा गरेको लकडाउनहरूले गर्दा विद्यालयमा पठनपाठन गर्ने सबै बालबालिकाहरूमा निकै ठुलो असर परेको थियो ।

हालको वर्षको जेठबाट शुरू भएकाे अनलाइन शिक्षाले पनि त्यति प्रभाव रहेको देखिएन । त्यस बेलाका शिक्षामन्त्री गिरिराजमणि पाेखरेलले प्रभावकारी रूपमा सरकारकाले अनलाइन शिक्षा लाई प्राथमिकता दिएको जनाए पनि त्यसले कुनै ठुलो परिवर्तन ल्याएको देखिँदैन ।

सरकारले प्रभावकारी रूपमा टेलिभिजन, रेडियो तथा विभिन्न सञ्चार माध्यमहरू मार्फत बालबालिकाहरूमा प्रभावकारी शिक्षा आदानप्रदान गरेको ठोकुवा गरे पनि यसले बालबालिकामा कुनै प्रकारको प्रभाव पारेको पाइँदैन । कतिपय बालबालिका त अझै पनि रेडियाे, टिभीकै पहुँचमा छैनन्, इन्टरनेटकाे के कुरा गर्नु ?

तर, हामी हालको परिस्थितिमा कोभिडको सन्त्रासबाट लगभग बाहिर आउने क्रममा छौँ । भारत सरकारको सहयोगमा नेपालमा पनि कोभिडको खोप उपलब्ध भइरहेको छ । त्यसमा पहिलो प्राथमिकतामा डाक्टर, नर्स, स्वास्थ्यकर्मी, पत्रकार लगायत फ्रन्टलाइनमा खटिएका मानिसहरूलाई ७७ ओटै जिल्लाबाट खोप उपलब्ध भइसकेको छ ।

तर, सरकारले शिक्षाका क्षेत्रमा रहेका शिक्षक तथा उमेर पुगेका बालबालिकाहरूलाई पनि प्राथमिकतामा राख्नु पर्ने देखिन्छ ।  किनकि हाल प्रायः जसो विद्यालयहरू खुलिसकेका छन् । त्यहाँ त हरेक ठाउँबाट आएका मानिसहरूको भेट हुन्छ  । तर न त्यहाँ सामाजिक दुरी नै प्रभावकारी हुन सक्छ, न अरू उपाय ।  माक्स, पन्जा, सेनेटाइज गरिए तापनि त्यहाँ ठुलो संङ्क्रमणको खतरा देखिन्छ ।  कोभिडदेखि हामी सबै सजक रहे तापनि यसले हामीमध्ये कसैमा पनि सङ्क्रमण देखिए पूरा विद्यालय नै शिल गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

कोभिड सङ्क्रमणका कारण नेपालमा पनि केही हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् भने लाखौं मानिसहरू सङ्क्रमित भएका छन् ।

गतवर्ष कोविडको प्रभावकै बीच कक्षा १० को एसईई परीक्षा गराउन सरकार परिस्थितिका कारण असफल रह्यो । कक्षा ११ को कलेज आफैँले परिक्षा लिएको हो भने, कक्षा १२ को परिक्षा पनि ४० पूर्णाङ्कमा सीमित रहेको थियो । केही कम पूर्णाङकको परिक्षा गराइ परिक्षा फल पनि सरकाले प्रकाशन गरिसकेको छ । तर, पनि शिक्षा मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो नै पढाउने, गणित बिषय हटाउने कि नहटाउने जस्ता विषयमा पनि निकै समय अलमल गरेर बल्ल टुंगो लगाएको छ ।

तर, हाल चलिरहेको शैक्षिक सत्रप्रति सरकार गम्भीर रहेको पाइँदैन । हाल चलिरहेको शैक्षिक सत्र कहिलेसम्म समाप्त हुने, अनलाइनका भर एकसराे पढाएर उपलब्धि के-कति हासिल हुने हाे ? र,  कक्षा १० को परीक्षा कसरी लिने, कहिले लिने ? कसाे गर्दा प्रभावकारी हुन सक्छ ? यी विषयमा सरकार त अलमलमा नै छ, विद्यार्थीलाई पनि अलमलमा पारेको छ ।

एकापट्टि कोभिडको प्रभाव तथा अर्कोपट्टि शिक्षा मन्त्रालयको अलमल । मन्त्रालयले हरेक समय-परिस्थितिमा सही निर्णय गर्न नसक्नुले शैक्षिक क्षेत्र निकै खस्किएको मात्र हैन, निकै खलबलिएकाे पनि छ । यसले शिक्षामा प्रभावकारीताबारे विभिन्न प्रश्नहरू उठ्न थालेका छन् । तसर्थ शिक्षा मन्त्रालयले नगरी नहुने कुराहरूमा अलमल नगरेर विद्यार्थीकाे स्वास्थ्यसँगै भविष्यबारे समेत प्रभावकारी रूपमा साेचेर उचित व्यवस्था गर्न ढिलाे गर्नु हुँदैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com