३० माघ २०७७, शुक्रबार
  • तारा आचार्य,

मोरङ, ३० माघ । सरस्वती पूजा नजिकिदै गर्दा मूर्ति व्यवसायीहरुलाई फुर्सद् हुन छाडेको छ । हरेक बर्ष दोहोरिने र आउने यस्तै चाड पर्वले नै यस्ता व्यवसायीहरुको व्यवसाय चल्दै आएको छ ।

हरेक बर्ष सरस्वती पूजामा शिक्षालय र गाउँघरमा नयाँ मूर्ति सजाएर विद्याकी देवी सरस्वतीको पूजा गर्ने चलन रहेकोले पनि मूर्ति व्यवसायीहरुलाई भ्याइनभ्याई हुने गरेको छ ।

विराटनगरका सञ्जीत महतो २० बर्षदेखि मूर्ति व्यावसाय गर्दै आएका छ । उनले बुबाको पेशालाई जोगाएर अघि बढाउँदै आएका छन् । नजिकिदै गरेको सरस्वती पूजाको लागि नयाँ मूर्ति बनाउनु पर्ने भएकाले मूर्तिकारहरुलाई मूर्ति बनाउन भ्याइनभ्याइ छ ।

कोरोना माहामारीका कारण लामो समयसम्म संकटमा परेको यो व्यवसाय सरस्वती पूजाको लागि बनाउनु पर्ने मूर्तिसंगै रौनक पनि फर्किएको व्यवसायीहरु महसुस गरेका छन् । धमाधम मूर्ति बनाउन जुट्नु पर्दा व्यवसायीहरु हर्षित पनि देखिएका छन् ।

नेपालमा हिन्दू धर्माबलम्बीहरुले चाडपर्व अनुसार भिन्नाभिन्नै देवी देवताको माटोको मुर्ति प्रयोग गर्ने गरेकाले मूर्ति पेशाबाट धेरैले राम्रै आम्दानी गर्दै आएका छन् । तर मूर्ति बेचेर जीविकोपार्जन गर्दै आएका यी मूर्ति व्यवसायीहरुले लकडाउनको समयमा एउटा पनि मूर्ति बेच्न नपाएको गुनासो गरेका छन् ।

उनीहरुले हरेक सिजनमा ५० देखि एक सयवटा सम्म मूर्ति बेच्ने गरेको र साढे एक लाख सम्म आम्दानी हुने गरेको बताएका छन् । प्रतिमुर्ति २ सय देखि पाँच हजारसम्म विक्रि हुने गर्दछ ।

सरस्वती पूजाको लागि भने मुर्तिहरु तयार भइसकेको विराटनगरका मुर्ति व्यावसायीहरुले बताएका छन् । यस बर्षको वसन्त पञ्चमी एवं सरस्वती पूजा आगामी फागुन ४ गते परेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV