३० माघ २०७७, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), ३० माघ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पर्सामा सूचिकृत साना किसान कृषि सहकारी संस्था लिमिटेडले माघ २९ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद कार्य शुरु गरेको छ ।

नेपाल सरकारले जारी गरेको न्यूनतम समर्थम मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका-२०७७ बमोजिम वीरगन्ज महानगरपालिका–२७ उदयपुरघुर्मीस्थित साना किसान कृषि सहकारी संस्थाले उदयपुरघुर्मीको कृषि हाटबजारमा धान खरिद केन्द्र स्थापना गरेर फागुन ५ गतेसम्मका लागि न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कार्य शुरु गरेको हो ।

धान खरिद कार्यको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पर्सा, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र पर्सा र वीरगन्ज महानगरपालिकाका प्रतिनिधिहरुले संयुक्त रुपमा अनुगमन गर्ने कार्य गरिरहेका छन् ।

५ सय मेट्रिक टन धान खरिद गर्न लक्ष्य लिएको सहकारीले न्यूनतम समर्थन मूल्य मोटा धानको प्रति क्विन्टल २ हजार ७ सय ३५ र मध्यमको २ हजार ८ सय ८५ रुपैया निर्धारण गरेको हो ।

धान खरिद गरे बापत नेपाल सरकारबाट प्रति क्विन्टल १ सय १२ रुपैया अनुदान समेत पाउने व्यवस्था मिलाइएको छ भने यसको लागि सहकारीले धान खरिद गरेको १५ दिनभित्र बैंक खातामार्फत् कृषकहरुलाई भुक्तानी गरिसक्नु पर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पर्साका प्रमुख रोशन अधिकारीले जानकारी दिए ।

धान खरिदको सहजीकरणको निमित्त गठित जिल्ला कार्यन्वयन समितिको बैठकबाट प्रति कृषकले ३० क्विन्टलसम्म धान बिक्री गर्दा नागरिकता प्रमाणपत्र, ३ देखि ५० क्विन्टलसम्म धान बिक्री गर्दा अनिवार्य नागरिक्ताको प्रमाणपत्र, जग्गा धनिको प्रमाणपत्र र सहकारी संचालक सदस्यको सिफारिस एवं ५० क्विन्टल भन्दा बढी धान बिक्री गर्ने कृषकले अनिवार्य नागरिकता प्रमाणपत्र, जग्गाधनी प्रमाणपत्र पूर्जा, स्थानीय तहको सिफारिस र सहकारी संचालक सदस्यको सिफारिस पेश गर्नु पर्ने निर्णय गरिएको छ ।

ढिलै शुरु भएपनि यस खरिद कार्यले कृषकलाई अगामी दिनमा अझ बढी उत्पादन गर्न उर्जा प्रदान गर्नुको साथै उत्पादनको बजार सुनिश्चितताको प्रत्याभूति समेत हुने विश्वास लिइएको प्रमुख अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV