३० माघ २०७७, शुक्रबार

काठमाडौँ, ३० माघ । प्रधानमन्त्री केपी शमौ ओलीलाई नेपाल कम्यूनिष्ट पार्टीका कञ्चनपुरका नेताहरु ले भेटेका छन् । नेकपा कञ्चनपुरका नेताहरुले शुक्रबार प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेका हुन् । भेटमा कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले उक्त जिल्लाबाट भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनुपर्ने माग राखेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओलीसँग भएको भेटवार्तामा कञ्चनपुर क्षेत्रमा भारतसँगको सीमा स्ट्रीप म्यापका आधारमा तय गर्दा धेरै ठाउँमा नेपाली भूमि भारततर्फ परेको उल्लेख गर्दै यसलाई सच्याइनुपर्ने समेत उल्लेख गरेका छन् ।

नेताहरूले कञ्चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भए पनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई अन्त्य गरिनुपर्ने, भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्काल थाल्नुपर्ने मागसमेत राखेका थिए ।

यसैगरी उहाँहरुले सम्माननीय प्रधानमन्त्रीसँग पुनर्वास नगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने र शुक्लाफाँटा बन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित दुई हजार ७६ परिवारको पुनस्र्थापना गरिनुपर्ने विषयमा समेत छलफल गरेका छन् ।

भेटमा नेकपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य इन्दु कडरिया विष्ट तथा केन्द्रीय सदस्यहरु राजेन्द्रसिंह रावल, रामचन्द्र नेपाल, खेम सुवेदी र नरबहादुर धामी लगायतका नेताहरू सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV