३० माघ २०७७, शुक्रबार
  • दान बहादुर बुढा,

मुगु, ३० माघ । हिमाली जिल्ला मुगुमा गत बुधवार आगलागी हुँदा दुई बालक जलेर गम्भीर घाइते भएका छन् । मुगुको सोरु गाउपालिका–२ नाथर्पुका देविलाल बुढाका ५ वर्षीय छोरा छार्पे बुढा र हरी शाहीका ५ वर्षीय छोरा दिल शाही आगलागीबाट गम्भीर भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार वडा नम्बर २ का लोकेन्द्र बुढाको ढुंगा, माटो र खरको छानो भएको गोठमा आगलागी भएको हो । आगो ताप्ने क्रममा एक्कासि आगलागी भएर पूर्ण रुपमा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।

उनले भने, ‘उक्त आगलागीमा परी दुई बालकको खुट्टा जलेर गम्भीर घाइते भएका छन् । त्यस्तै, सो आगलागीबाट करीब २५ हजार क्षति भएको छ ।’

थप उपचारका लागि काठमाडौं रिफर

आगलागीमा परी गम्भीर घाइते भएका उक्त दुई बालकलाई थप उपचारका लागि शुक्रबार काठमाडौं रेफर गरिएको छ ।

जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि आज (शुक्रबार) थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ । घाइते बालकहरुको हात खुट्टा तथा शरीरको अन्य भाग पनि जलेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV