२९ माघ २०७७, बिहीबार
  • रामगोपाल तमखु

भक्तपुर, २९ माघ । भक्तपुरमा देशकै पहिलो श्वासप्रश्वास पुनस्र्थापन केन्द्रको भवन उद्घाटन र आजबाट उपचार सेवा सुरूवात गरिएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने भक्तपुर नगरपालिका श्वासप्रश्वास पुनस्र्थापन केन्दको्र भवन उद्घाटन तथा उपचार सेवा शुभारम्भ भएको हो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र स्थापनाले भक्तपुर लगायत देशभरिका दीर्घ रोग दमखोकी भएका व्यक्तिहरू लाभान्वित हुने बताउनु हुँदै जिम्टेफको सहयोग फलदायी हुने आशा व्यक्त गर्नुभयो ।

स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिबारे स्पष्ट पार्नु हुँदै उहाँले नेपालमा नक्कली औषधी निर्यात भइरहेको तर्फ सचेत रहनुपर्ने र नगरको ढल, पार्क, संग्रहालय, व्यवस्थित अस्पताल सञ्चालन लगायतका क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विदेशी दाताहरूको सहयोगबाट सञ्चालन हुने प्रोजेक्ट तथा कार्यहरू नेपालले सफलतापूर्वक सञ्चालन गर्छ भन्ने उदाहरणीय कार्य भक्तपुर नगरपालिकाले गरेर देखाउनु पर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बागमति प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाले नेपालकै पहिलो र एकमात्र श्वास पुनःस्थापन केन्द्र सञ्चालन गरी एउटा नयाँ प्रयासको शुभारम्भ भएको बताउनु भयो । उहाँले स्वस्थ जीवनको लागि स्वस्थ समाजको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भक्तपुर नपाले देशकै लागि नमुना कार्यको थालनी भएकोतर्फ खुशी व्यक्त गर्नुहुँदै नगर विकासको निम्ति सम्पूर्ण नगरबासीहरूको साथ र सहयोगबाट सम्भव हुने बताउनुभयो । देशको शिक्षा र स्वास्थ्यमा बढ्दै गएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै सांसद गोसाइँले भक्तपुर नपाको अगुवाईमा सञ्चालन हुने ख्वप अस्पताल यथाशक्य छिटो सञ्चालन हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्वासप्रश्वास पुनःस्थापन केन्द्र सञ्चालनको लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था जिम्टेफप्रति आभार प्रकट गर्नुहुँदै केन्द्रले तालिम प्राप्त चिकित्सकहरूबाट सेवा प्रवाह गर्ने बताउनुभयो ।

दम–खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी रोगले धेरै जनता पीडित बन्नु चिन्ताको विषय भएको बताउदैं उहाँले यस संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुर नगरपालिकाले आवश्यक भूमिका खेलिरहने बताउनुभयो ।
प्रमुख प्रजापतिले नागरिकहरूलाई स्वास्थ्य उपचारमा सहज पहुँच र सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले तीनवटा जनस्वास्थ्य सेवा केन्द्र मार्फत १९ थरिको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पनि जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV