२९ माघ २०७७, बिहीबार

काठमाडौं, २९ माघ । बालुवाटारस्थित ललितनिवासको सरकारी जग्गा व्यक्तिका नाउँमा दर्ता गराएर हिनामिना गरेकाे काण्डका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राखेर सुनुवाइ गर्ने भएको छ ।

बुधबार विशेष अदालतमा बयान दिन उपस्थित भएका ढकाललाइ सदरखोर, डिल्लीबजार चलान गरिएकाे विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले जानकारी दिए । ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यसअघि नै धरौटीमा छाडेको थियाे ।

प्रवक्ता पाण्डेयका अनुसार विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हाे ।

उक्त जग्गाको मुख्य बिचौलियाको भूमिका निभाएका ढकाल त्यस प्रकरणमा अनुसन्धान सुरु भएपछि फरार रहेका थिए । ढकाल र रामकुमार सुवेदीले संयुक्त रूपमा उक्त सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा बिचौलियको भूमिका निभाएका थिए ।

सुवेदी लेखापढी व्यवसायी समेत भएकाले उनको सहयोगमा बालुवाटरको सरकारी जग्गा व्यक्तिको बनाउने चलखेल सुरु भएको थियो । ललिता निवास प्रकरणमा अधिकांश प्रतिवादीले ढकालको नाम लिएका थिए ।

ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेका थिए । ढकालले उक्त जग्गा राखेर आइएमई इन्स्टिच्युसनबाट १ करोड ९० लाख ऋण समेत लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभुयुक्त ढकालविरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV