२८ माघ २०७७, बुधबार
  • मनोज भुजेल,

सुनसरी, २८ माघ । इटहरीमा विभिन्न कारणले सवारी दुर्घटनाको क्रम दिनप्रति दिन बढ्दो छ । दैनिक कम्तिमा पनि एउटा दुर्घटना हुने गरेको इलाका प्रहरी कार्यालय इटहरीको तथ्याङ्कले देखाएको छ ।

यसलाई न्यूनीकरण गर्न इटहरीमा रहेका विभिन्न संघसंस्थाहरुले जनचेतनामूलक कार्यक्रम पनि अगाडि बढाएका छन् ।

मोक्ष पुर्नजीवन केन्द्र इटहरी, हेल्पिङ हेण्डस क्लब, हेल्पिङ युथ र निलगिरि गोरखा होटल, इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रयासमा इटहरीको तरहरादेखि पूर्व पृतना हेडक्वाटरसम्म जनचेतनामुलक ६ वटा होडिङ वोर्ड राखिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसीले निर्माणाधीन ६ लेन सडक परियोजनको काम र तीव्र गतिमा सवारीसाधन चलाउँदा इटहरीमा दुर्घटना बढेको जानकारी दिए । र, मोटरसाइकल र साना सवारीसाधन दर्घटनामा बढी पर्ने गरेको पनि उनको भनाइ छ ।

इटहरीको तरहरा, पिपल चोक आसपासमा ६ लेन सडक परियोजनाको काम लगभग सकिएको छ । हलगडा चौक, पूर्वी पृतना हेडक्वाटर अगाडि र विराटनगरलाईनमा ६ लेन सडक परियोजनाको काम भइरहेको छ ।

हेल्पिङ हेण्डस क्लब इटहरीका अध्यक्ष राजेश राईले इटहरीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि होर्डिङ बोर्ड राखिएको जानकारी दिए । यसले सवारीचालकलाई सचेत गराउने र दुर्घटनामा कमि आउने उनको विश्वास छ ।

लकडाउन भन्दा पहिलदेखि नै सुरु भएको यो परियोजनाको काम कछुवाको गतिमा हुँदा र्दुघटना सँगै धुलोले पनि इटहरीबासी आजित बनेका छन् । सडक दुर्घटना न्यूनीकरणको लागि सडक निर्माणको काम चाँडै सक्नु पर्ने स्थानीयको माग छ ।

पछिल्लो समय इटहरीमा सवारी दुर्घटना हुने र मृत्यु हुनेको संख्या वृद्धि हुन थालेको छ । आइतबार इटहरीको हलगडामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको थियो । त्यस्तै इटहरीमा नै तीब्र गतिमा मोटरसाइकल कुदाउँदा बुबा छोराको मृत्यु भएको थियो । यस्तै दर्जन भन्दा बढी दुर्घटनामा परेर ५ जना भन्दा बढीको ज्यान गएको छ भने धेरै अंगंभंग भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV