२८ माघ २०७७, बुधबार

जनकपुर, २८ माघ । प्रदेश २ को निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको विधेयकको प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गर्नुभएको छ ।

संविधान अनुसार प्रदेशसँग निजामति सेवाको गठनका लागि क्षेत्राधिकार रहेको छ । गत कात्तिक ३ गते यो विधेयक प्रदेशसभाले पारित गरेको थियो । प्रदेशसभाले पारित गरेर कात्तिक १६ गते प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरेको थियो ।

प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ । विधेयक प्रमाणीकरणसँगै ऐनको हिस्सा बनेको छ । अब प्रदेश २ ले निजामति सेवाको गठन तथा सञ्चालन गर्न सक्नेछ । कर्मचारी भर्नादेखि सञ्चालनका लागि पनि बाटो खुलेको छ ।

परियार प्रदेश प्रमुखका रुपमा नियुक्त भएपछि १७ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेशमा जम्मा प्रमाणीकरण भएको विधेयकको संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV