२७ माघ २०७७, मंगलवार
  • अमर काफ्ले,

इनरुवा, २७ माघ । निर्माण सम्पन्न पश्चात नगरपालिकालाई हस्तान्तरण गरिएको बसपार्क दुई वर्षपछि सञ्चालनमा आएको छ । सडक बाटो र पूर्वाधारसहित झण्डै ३ विघा क्षेत्रफल ओगटेको बसपार्कको संरचना १० करोड लागतमा निर्माण गरिएको थियो ।

२०७५ साल पुष २५ गते उद्घाटन पश्चात नगरपालिकालाई हस्तान्तरण गरिएको बसपार्क विभिन्न अड्चन र झमेलाको कारण संचालनमा आउन भने सकेको थिएन् ।

बसपार्कको लागि निर्माण गरिएको संरचनामा प्रहरीको प्रादेशिक अस्पताल सञ्चालनको तयारी थालिएको खबर बाहिरिए लगत्तै जग्गादाता र वडावासी आन्दोलित बनेका थिए । सोही अनुरुप उनीहरुले आजबाट बस व्यवसायी सँगको समन्वयमा बसपार्क संचालनमा ल्याएका छन् ।

जग्गादातासहित स्थानीयले नगरपालिकाको कार्यालयले बसपार्क सञ्चालन गर्न नचाहेको आरोप लगाउँदै आएका थिए । जग्गादाताहरुले आफूहरुले बसपार्कको लागि दान दिइएको जग्गामा अस्पताल संचालन गर्न लागिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए ।

असन्तुष्टि बढ्दै जाँदा नगर प्रमुख राजन मेहताले बसपार्क सञ्चालनको विपक्षमा आफू नरहेको भन्दै साथ र सहयोगको प्रतिवद्धता जनाएका छन् । हाल नेपाल प्रहरी, ट्राफिक र नगर प्रहरीसहित स्थानीय जुटेर इनरुवा खण्ड भएर गुड्ने सवारीका साधन बसपार्क तर्फ छिराउन थालिएको छ ।

इनरुवाको बसपार्क स्मार्ट सिटी परियोजना अन्र्तगत शहरी बिकास मन्त्रालयले निर्माण गरेको थियो । अपाङ्गमैत्री र सुविधा सम्पन्न सो बसपार्क प्रदेश १ कै नमूना रहेको तत्कालीन अवस्थामा आयोजित हस्तान्तरण कार्यक्रममा घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV