२६ माघ २०७७, सोमबार
  • बाल बिक्रम कार्की

रौतहट, २६ माघ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ पौराहीमा बसोबास गर्दै आइरहेकी ७५ वर्षिया वृद्धा । सञ्चमाया योन्जनले नागरिकता पाएकी छिन् । योञ्जन र उनको परिवारले हालसम्म नेपालको नागरिकता नपाएको विषयमा न्यूज २४ को कार्यक्रम कल २४ मा रिर्पोट प्रशारण गरेपछि स्थानिय प्रशासनको यसलाई गम्भिर रुपमा लिएको थियो ।

हाल मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर २ डोटे राइगाउँ भन्ने स्थानबाट करिब १५ वर्ष अगाडि सो स्थानमा बसाइ सरेर आएकी उनले आफुले नागरिकता बनाउन नसक्दा राज्यले वृद्धहरुलाई प्रदान गर्दै आइरहेको मासिक ३ हजार वृद्धभत्ता पनि पाएकी थिइनन् । दुईवटा बिवाह गरेकी उनको दुबै श्रीमानहरुको मृत्यु भइसकेको छ भने सन्तानमा एक छोरा , एक छोरीलाई जन्म दिएकी उनको छोराको पनि मृत्यु भइसकेको छ । जिउँदो छदाँ श्रीमान्हरुले नागरिकता नबनाइदिदाँ उनलाई नागरिकता बनाउन सकस भएको थियो ।

उनले नागरिकता नपाएको बारेमा सो कार्यक्रममा रिर्पोट बजेपछि नागरिकता नपाएकी सन्चमायाको पौराही स्थित योञ्जनकै घरमै पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख उपसचिव डोरेन्द्र निरौला सहितको योन्जनको घरमा पुगेर नागरिकता नपाउनुको कारणबारे बुभ्mदै उनलाई नेपालको नागरिकता दिलाउन सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालय प्रमुखनै सो स्थानमा पुगेपछि भने नागरिकता पाउने आशा योञ्जन परिवारमा पलाएको थियो ।

योञ्जनले आइतबार इलाका प्रशासन कार्यालयबाट नागरिकता पाएकी हुन् । उनले वंशजको आधारमा नागरिकता पाएकी छिन् । उनलाई सो कार्यालयका प्रमुख डोरेन्द्र निरौलाले नेपालको नागरिकता प्रदान गर्नुभएको थियो । मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्बर २ डोटे राइगाउँले उपलब्ध गराएको योञ्जनको जन्म प्रमाणित, विवाह प्रमाणित, बसाइँसराइँ, चन्द्रपुर नगरपालिका १ को वडा सर्जमिन, प्रहरी सर्जमिन लगायतका कागजातको आधारमा वंशजको आधारमा नागरिकता प्रदान गरिएको कार्यालय प्रमुख निरौलाले जानकारी दिनुभयो ।

उनलाई नागरिकता प्रदान गर्नका लागि तीनजना स्थानियले कार्यालयमै गएर सनाखत गरेका थिए । उनलाई नागरिकता दिलाउन र आवश्यक कागजात तथा सिफारिसहरु उपलब्ध गराउन स्थानिय युवाहरु एका बहादुर मोक्तान , सुकेन्द्र गोले लगायतले निकै सहयोग गरेका थिए । उनीहरुले योञ्जनको कोही पनि नभएकाले आफुहरुलेनै लागिपरेर सहयोग गरेको र आज योञ्जनले नागरिकता पाउँदा निकै खुसी लागेको भन्दै सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे ।

७५ वर्ष सम्म नागरिकता विहिन भएर बस्नुपर्दा पिडा भोगेकी । सञ्चमाया योञ्जन नागरिकता पाएपछि निकै खुसी देखिएकी थिइन् । उनले आफुले नेपालको नागरिक हुने आश पनि मारिसकेको अवस्थामा सबैको साथ र सहयोगले नेपालको नागरिकता पाएकोमा हर्षित भएर सबैलाई धन्यवाद दिएकी थिइन् । उनले आफुलाई जस्तै नागरिकता विहिन आफ्नो छोरीतर्फको नाति तथा नातिनी बुहारीलाई पनि नागरिकता दिलाउन पनि सहयोग गर्न आग्रह पनि गरिन् ।

सञ्चमायाको मात्र नभइ उनीसँगै बसोबार गर्दै आइरहेका उनका नाति र नातिनी बुहारी पनि नागरिकता बन्न सकेको छैन् । उनकी छोरीको छोरा २२ वर्षिय शरण तामाङ्ग र उनकी श्रीमती २३ वर्षिया अनिषा तामाङ्ग पनि नागरिकता बनेको छैन् । कक्षा ४ सम्म मात्र पढेका शरण ६–७ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको र आमाले उनलाई छाडेर अर्को बिवाह गरेर गएपछि उनको पनि नागरिकता बनाउन सकस भएको हो । अहिले उनको ३ वर्षको र १ वर्षको दुई छोराहरु छन् । श्रीमान–श्रीमती दुबैजनाको नागरिकता नभएपछि उनीहरुको बिवाह दर्ता भएको छैन् अनि बिवाह दर्ता नभएकाले छोराहरुको जन्मदर्ता भएको छैन् ।

जन्मदर्ता नहुँदा जेठो छोरालाई विद्यालय भर्ना गर्न पाएका छैनन् भने कान्छो छोरा राज्यले प्रदान गर्दै आइरहेको पोषण भत्ताबाट बन्चित छन् । सञ्चमायाले नागरिकता पाएपछि उनीहरुलेमा पनि नागरिकता बन्ने आशा पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV