२६ माघ २०७७, सोमबार

काठमाडाैँ, २६ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले साविक विजेता लिभरपुललाई हराएको छ ।

उपाधि होडमा निकै महत्वपूर्ण मानिएको यो खेलमा म्यान सिटी ४–१ को फराकिलो गोल अन्तरमा विजयी भयो । लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा पाहुना टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन इके गुन्डोगानले दुई गोल गर्दा ग्याब्रियल जिसस र राहिम स्टर्लीङले एक एक गोल थपे ।

पराजित टोली लिभरपुलका मोहोमद सालाहले पेनाल्टीमार्फत एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले शेफिल्ड युनाईटेडलाई २–१ ले हरायो । नयाँ प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा चेल्सीलाई लगातार दोस्रोे जित दिलाउन मेसन माउन्ट र जर्गीनोले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले वेष्ट ब्रोमलाई २–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्स र लेष्टर सिटीले गोलरहित बराबरी खेलेका छन् ।

गएरातिका खेलपछि प्रिमियर लिगको तालिकामा २२ खेलबाट ५० अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेड ४५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ४३ अंक छ । ४० अंकसहित लिभरपुल चौथो स्थानमा छ भने पाँर्चौ स्थानको चेल्सीको ३९ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV