२५ माघ २०७७, आईतवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), २५ माघ । नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेतापनि तेश्रोलिंङ्गीहरुप्रति हेर्ने समाजको दृष्टिकोण परिवर्तन हुन सकेको छैन ।

संविधानको भाग (३) मौलिक हक र कर्तव्यको धारा (१६) को सम्मानपूर्वक बाँच्न पाउने हकको उपदफा (१) मा प्रत्येक व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर, त्यो व्यवहारमा भने लागू हुन सकेको छैन ।

तेश्रोलिङ्गीहरु अझै पनि समाजबाट अपहेलित, आलोचित हुनुपर्ने अवस्था रहेको छ । पर्सा जिल्लामा ४ हजारको हाराहारीमा तेश्रोलिङ्गीहरु छरिएर रहेतापनि उनीहरुको कुनै किसिमको औपचारिक तथ्याङ्क समेत छैन ।

सरकारले आफ्ना मुलुकका नागरिकहरुलाई परिचय–पत्रको रुपमा नागरिकता दिने गरेको अवस्थामा २०७२ सालको संविधानले लिङ्गको आधारमा तेश्रोलिङ्गीहरुलाई पनि नागरिकता दिने व्यवस्था गरेको छ । तर, त्यसमा भएको विभिन्न झन्झटको कारण नेपालभरि रहेका ९ लाख तेश्रोलिङ्गीहरुमध्ये करिब ६ दर्जनको हाराहारीमा तेश्रोलिङ्गीहरुले लिङ्गको आधारमा नागरिकता प्राप्त गरेका छन् ।

पर्सा जिल्लामा भने एक जनाले पनि नागरिकता प्राप्त गर्न सकेका छैनन् । सरकारले तेश्रोलिङ्गीहरुलाई नागरिकता दिएपनि उनीहरु कहाँ र कुन अवस्थामा छन् ? भनेर कसैलाई चिन्ता छैन ।

नेपालमा सञ्चालित ब्लू डाइमण्ड सोसाइटी (निल हिरा समाज)ले सकेसम्म तेश्रोलिङ्गीहरुलाई एकठाउँमा ल्याउन प्रयास गरेपनि सफल हुन सकेको छैन । समाजको पर्सा जिल्ला शाखामा औपचारिक रुपमा हालसम्म ७ जना मात्रै सदस्य रहेका छन्, जबकी पर्सामा ४ हजार भन्दा बढीको संख्यामा तेश्रोलिङ्गीहरु छन् ।

उनीहरुलाई जीवन यापन गर्नका लागि रोजगारीको वातावरण समेत नभएको कारण साना तिना होटल, दैनिक ज्यालादारीमा काम गर्नुपर्ने तथा यौन व्यवसायमा लाग्नुपर्ने बाध्यता रहेको छ ।

पर्सामा रहेका तेश्रोलिङ्गीहरुले खास गरेर विवाह, पार्टी, ब्रतबन्ध लगायत विभिन्न पार्टीहरुमा नाचेर आम्दानी गरि आफ्ना परिवार पाल्ने गरेका छन् । उक्त काम गर्न नसकेकाहरुले वीरगन्जको बसपार्क क्षेत्रमा यौन व्यवसायमा लागेका छन् ।

यौन व्यवसायमा लाग्नु उनीहरुको रहर पक्कै होइन, बाध्यता हो । संविधानको भाग (३) मौलिक हक र कर्तव्यको धारा (१८) समानताको हकको उपदफा (४)मा समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिनेछैन भनेर प्रष्ट उल्लेख गरिएको छ ।

तर, तेश्रोलिङ्गी भएकै कारण रोजगारीको लागि काम खोज्न जाँदा गेट बाहिरबाटै फर्किनुपर्ने अवस्था रहेको उनीहरुको गुनासो छ । मुलुकमा उनीहरुलाई कागजी रुपमा सम्पूर्ण अधिकार सु्निश्चित गरिएको छ तर व्यवहारमा भने लागू हुन सकेको छैन ।

सायद अल्पसंख्यक भएकै कारण उनीहरुको आवाज कसैले नसुनिदिएको हुनसक्छ, तर संविधानले जसरी प्रत्येक नागरिकलाई बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ त्यो कार्यान्वयनमा ल्याउन सक्नुपर्छ ।

तेश्रोलिङ्गीहरुलाई समाजले हेर्ने दृष्टिकोण विगत भन्दा केही परिवर्तन भएपनि अहिलेपनि समाजमा तेश्रोलिङ्गी हेर्ने वित्तिकै हेला गर्ने, जिस्काउने, गाली गलौच गर्ने जस्ता कामहरु खुलेयाम भइरहेको छ ।

आफू तेश्रोलिङ्गी रहेको थाहा पाएपछि आफ्ना घरपरिवारबाट यातना समेत खेप्नुपर्ने बाध्यताले कतिपयले खुलेर आफ्नो पहिचानका साथ बाँच्न पाएका छैनन् । तेश्रोलिङ्गी भएकै कारण कतिपयले परिवारदेखि समाजको यातना खेप्नु परेको छ ।

यहाँसम्म कि संवैधानिक निकायबाट पनि यातना खेप्नु परेको उदाहारणहरु प्रसस्तै देख्न सकिन्छ । विस्तारै विस्तारै समाजमा तेश्रोलिङ्गीहरुप्रति हेर्ने दृष्टिकोणमा फरक हुँदै गएपनि लिङ्गकै आधारमा अपहेलित हुनु, सम्मानपूर्वक बाच्न नपाउनुले संविधानले सुनिश्चित गरेको अधिकारलाई चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV