२५ माघ २०७७, आईतवार

काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको अहिलेसम्मको उपलब्धि केपी शर्मा ओलीले संकटमा पार्न खोजेको आरोप लगाउनुभएको छ ।

आइतबार (आज) संसद् विघटनको असंवैधानिक कदमविरुद्ध ट्रेड युनियनको श्रमिक भेलालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री ओलीमा कम्युनिष्टमा हुनुपर्ने कुनै गुण नभएको बताउनुभएको हो ।

सानो दुःखले कम्युनिष्ट आन्दोलन यहाँसम्म ल्याएको नभएकाले अब नयाँ पुस्ताले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘ओलीमा सामूहिकताको निर्णय मान्य पनि छैन । कम्युनिस्ट विचारमा सामूहिकता चाहिन्छ । तर, ओली आदेश दिन चाहन्छन् ।’

त्यस्तै, उहाँले अहिलेको लडाइँ कुर्सी र पदको लागि हानथाप नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘कुर्सी र पदका लागि हानथाप गरेका होइनौँ । न्यायका लागि लडिरहेका छौँ । सरकारको कामको बिषयमा जनताले कुरा उठाइ रहेपछि हामीले प्रश्न गरेका हौँ । तर, उहाँले कुरा नै सुन्न चाहेनन् ।’

त्यस्तै उहाँले ओली पार्टीभित्र आफ्नै प्रवृत्तिको कारणले एक्लै भएको जिकिर गर्दै भन्नुभयो, ‘उहाँले कम्युनिष्ट पार्टी सिध्याउन खोजे । हामीले मनपरी गर्न पाउँदैन भनेर रोकेपछि प्रधानमन्त्रीबाट हटाउन लागे भनेर संसद विघटन गरे, अध्यक्षबाट हटाउन भन्ने लागेर पार्टी फुटाए ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV