२४ माघ २०७७, शनिबार

काठमाडौं, २४ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शनहरु जारी रहेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सडक प्रदर्शनमा रहेको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि एक्लै सडकमा उत्रिएको छ । शनिबार कांग्रेसका १९ शुभेच्छुक संस्थाहरुले देशैभर प्रदर्शन गरेका छन् । ७७ जिल्लाका सदरमुकामहरुमा भएका प्रदर्शनमा सरकारको असंवैधानिक कदम सच्याउनुपर्ने माग गरिएको छ ।

काठमाडौंको टुंडिखेल वरिपरि कांग्रेसका १९ शुभेच्छुक संस्थाका प्रतिनिधिहरुले संसद विघटनको विरोधमा मौन प्रदर्शन गरे । नेपाल शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल प्रेस युनियनलगायत १९ शुभेच्छुक संस्थाहरूको आहृवानमा शनिबार टुँडीखेल घेरेर मौन प्रदर्शन गरेका हुन् ।

शुभेच्छुक संस्थाहरूले ७७ जिल्लाकै सदरमुकाममा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले प्रतिनिधिसभा पुनस्र्थापना गर्न माग गरेका छन् । उनीहरुले पेसाकर्मीले चिन्यो वर्तमान सरकार, पेसाकर्मीलाई बनायो आहात, महामारीमा पनिदिएन राहत जस्ता नारा सहितको प्लेकार्ड बोेकेका थिए ।

प्रमुख प्रतिपक्ष दल कांग्रेस समर्थित पेसाकर्मीहरुले कोभिड–नाइन्टिनको खोप दिनुपर्नेबेला निर्वाचनको घोषणा गरेर मुलुकलाई ठूलो आर्थिकभार थपेको आरोप पनि लगाएका छन् ।

कांग्रेसका शुभेच्छुक संस्थाहरूले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधि सभा विघटन गर्नुलाई भर्त्सना गर्दै जनताको सर्वोत्तम हितको रक्षा, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकारको रक्षा र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि सबैसँग अपिल गरेका छन् ।

उता, मोरङको विराटनगरमा पनि प्रदर्शन भएका छन् । कर्मचारी, मजदुर, शिक्षक, पत्रकार, कानुन व्यवसायी, स्वास्थ्यकर्मी लगायतका भातृ संगठनले आयोजना गरेको सो विरोध सभालाई सम्बोधन गर्दै सहभागिहरुले कम्युनिष्टहरु विभाजित भएको भन्दै द्विविधामा फस्न नहुने धारणा व्यक्त गरेका थिए ।

उनीहरुले अधिनायकवादी गतिविधिको विरुद्ध एक जुट भएर अघि बढ्न नेताहरुलाई आग्रह गर्दै संविधानलाई धरापमा पार्ने कार्यको विरोध हुनुपर्ने बताएका थिए ।

यस्तै खोटाङमा पनि कांग्रेस समर्थित पेसाकर्मीहरुले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । उनीहरुले आफ्नै नेतृत्वलाई पनि खबरदारी गरेका छन् । कांग्रेसले एकतावद्ध भएर आफू उभ्याउनुपर्ने उनीहरुको सुझाव छ ।

कांग्रेसको तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत शुभेच्छुक संस्थाहरूले काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका हुन् । यसअघि कांग्रेसका भातृसंगठनहरूले प्रतिनिधि सभा विघटनको विरोधमा माघ १९ गते देशभर विरोध प्रदर्शन गरेका थिए ।

यसअघि पुस १३, पुस २५, माघ ३ र माघ ८ मा विभिन्न तहमा नेपाली कांग्रेस र भ्रातृ संस्थाहरूबाट व्यापक सहभागितासाथ प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV