२४ माघ २०७७, शनिबार

काठमाडौं, २४ माघ । राजधानीको चन्द्रागिरी डाँडामा वर्षकै पहिलो पटक हिउँ पर्न सुरू भएको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ । पश्चिम नेपालका केही भू–भागमा हल्का वर्षा भएको हो भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ ।

चन्द्रागिरीमा पनि वर्षासँगै अत्याधिक चिसोका कारण हिउँ पर्ने गरेको छ । यो वर्ष पनि चन्द्रगिरीमा पहिलो पटक हिउँ परेको चन्द्रागिरी हिल्सले जनाएको छ ।

चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहाले हल्का वर्षासंगै २ः३० बजेदेखि हिउँ पर्न सुरू भएको बताए । केवलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।

हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । आज मात्रै सामाजिक सञ्जालमा चन्द्रागिरीमा हिउँ परेको तस्वीर र भिडियो हेरेरै चन्द्रागिरी पुग्नेको संख्या साझ ५ वजेसम्म ४५ सय नाघेको चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाहाले बताए ।

उनले भने, ‘आज बेलुकासम्म चिसो भए हिउँ मज्जाले पर्ने देखिएको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ । चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ ।’

चन्द्रागिरी डाँडामा हिउँ परेपछि बालबालिकादेखि युवायुवतीहरू हिउँको मज्जा लिन चन्द्रागिरी पुगेका छन् । शनिबार बिहानदेखि परेको सिमसिम पानीले राजधानीमा चिसो बढाएको छ । चिसोले राजधानीबासीको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV