२४ माघ २०७७, शनिबार
  • जनकबहादुर शाही,

हुम्ला, २४ माघ । हिमाली जिल्ला हुम्लामा पनि यस वर्षको तेस्रो पटक हिमपात भएको छ । शुक्रवार बिहानैबाट बाक्लो कुहिरोका साथै हिमपात सुरु भएको हो ।

हिमपात हुँदा चिसो अत्याधिक बढेको छ भने दिउँसो नै तापक्रम माइनसमा झरेको छ । जमिनमा आधा फिट भन्दा बढी हिउँ जमेको छ ।

बिशेष गरी नाम्खा गाउँपालिकाका र जिल्लाका अग्ला र उच्च स्थानमा दुई फिट भन्दा बढि हिउँ परेको छ । हिमपातसंगै उत्तरी हुम्लाको तापक्रम दिउसै माईनस आठ डिग्रीमा झरेको स्थानीय लोकेन्द्र रावतले बताए ।

चिसो अत्याधिक बढेपछि मानिस बाक्ला र उनीका कपडा लगाएर शरीरलाई न्यानो बनाउने कोशिस गरिरहेका छन । हिमपातले गाइवस्तु गोठ बाहिर निकाल्न कठिन भएकोले गोठमै घाँस हालेर थुनिएका छन् ।

मानिसको बाहिर आउजाउ पनि निक्कै पातलो रहेको छ । कार्यालयमा सेवाग्राही नआएपछि कर्मचारी आगो तथा हिटर तापेर बसिरहेका देखिन्छन ।

हिमपमतसंगै सडक बरफ जमेका कारण आन्तरिक रुपमा सञ्चालन हुदै आएका यातायात सेवा पनि बन्द रहेका छन । शुक्रबार सहित हुम्लामा तेस्रो पटक हिमपात भएको छ । यसअघि गत कात्तिक र पुस महिनामा हिमपात भएको थियो ।

हिमपात भएपछि कोभिडका कारण माघ १५ गतेबाट पठन पाठन सुरु गरेका विद्यालयहरुले कोर्ष सक्नका लागि भएपनि चिसोमा पठन पाठन जारी राख्नु परेको बाल मन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।

हिमपातले हुम्लाको जनजीबन प्रभाबित भएको भए पनि हिमपातले किसानलाई भने राहत पुगेको छ । कात्तिकमा छरेको जेठासी वाली नउम्रेको बेला हिमपात भएपनि उम्रने हुँदा किसान खुसी भएका हुन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV