२४ माघ २०७७, शनिबार

काठमाडौं, २४ माघ । धरान, सुनसरीका किरण लिम्बु तेश्रो संस्करणको क्रस दुवाथलन सिरिजमा च्याम्पियन भएका छन् । २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि. दौड ३५ मिनट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बू च्याम्पियन भएका हुन् ।

लिम्बूले पूरा गरेको समय तेश्रो संस्करण सम्मको सवै भन्दा छोटो समय हो । पहिलो संस्करणमा सुरेश भुजेलले ३५ः४० मिनटमा र दोश्रो संस्करणमा अच्युत कृष्ण खरेल ३७ मिनट २७ सेकेन्डमा दूरी पूरा गर्दै च्याम्पियन बनेका थिए ।

महिलातर्फ भने अनिशा गुरुङ्गले ४३ः५४ मिनटको छोटो समय कायम राखेकी छिन् । उनले पहिलो संस्करणमा उक्त समयमा निर्धारित दूरी पूरा गरेकी थिइन् ।

नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा भएको सिरिजमा महिलातर्फ बिदिशा चौधरीले निर्धारित दूरी ४९ मिनट ५२.४१ सेकेन्डमा पूरा गर्दै च्याम्पियन भइन् । दुई मात्र खेलाडीले सहभागिता जनाएको महिलाको प्रतिस्पर्धामा अर्की खेलाडीले निर्धारित दूरी पूरा गर्न नसकी बिचमै प्रतिस्पर्धा त्यागेपछि चौधरी च्याम्पियनको हकदार बनेकी थिइन् ।

लिम्बू र चौधरीले किङ्गस लञ्जद्वारा प्रायोजित ३ हजार बराबरको भौचर, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । ललितपुरको बज्रबाराही, झरुवारासीमा भएको च्याम्पियनसिपको पुरुष तर्फ सुरज कुमार पासवान दोश्रो र मौलिक महर्जन तेश्रो भए । पासवानले निर्धारित दुरी ४० मिनट ३२.९३ सेकेन्डमा र महर्जनले ४० मिनट ५६.८५ सेकेन्डमा पुरा गरे ।

दोश्रो हुनेले पिएएन्सी (प्याङ्क) को तर्फबाट प्रदान गरिएको खेलाडीहरुले प्रयोग गर्ने सामाग्री प्राप्त गरे भने तेश्रो हुनेले टेरिज क्याफेसिनोको तर्फबाट प्रदान गरिएको ५ सय बराबरको भौचर प्राप्त गरे । यस्तै बिजयी सवैलाई प्याङ्कको तर्फबाट निशुल्क साईकल मर्मतको भौचर प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाल ओलम्पिक कमिटीका महासचिव एवं नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, इमराल्ड नेशनल स्कुलका प्रिन्सिपल जित क्षेत्री, समाजसेवी दीपक राज घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।

खेलको माध्ययमबाट स्थानीय निकाय र संस्थाहरु संग समन्वय गरि स्थानियस्तरमा नव खेलाडी उत्पादन गर्ने र खेल समुदायको निर्माण गर्दै ट्राईयाथलन खेलतर्फ आकर्षित गर्ने उद्धेश्यले आयोजना गरिएको च्याम्पियनसिपको पहिलो संस्करण काठमाण्डौको पुरानो सहर टोखामा र दोश्रो संस्करण ऐतिहासिक सहर किर्तिपुरमा आयोजना भई सकेको छ ।

तीन महिनासम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने च्याम्पियनसीपको चौथो संस्करण टोखामा र पाँचौ कीर्तिपुरमा हुने छ । सिरिजको अन्तिम तथा छैटौं संस्करण उपत्यका बाहिर पोखरामा आयोजना हुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV