२४ माघ २०७७, शनिबार
  • राजन कार्की

नेपाली मुस्कान मोनालिसाको प्रतिलिपि होइन । यो त नेपाली संस्कारको भर्जिन प्रारुप कला हो ।

नेपाली मुस्कानलाई हिजोआज मोनालिसाको मुस्कानले बलात्कार गर्दै गएको छ । बलात्कारविरुद्धको संचेतना हो– ‘अस्मिता’ उपन्यास । डा. केआर दाहालको उपन्यास मनमा उर्लेका रङ्गतरङ्ग मात्र होइन । यसकारण ‘अस्मिता’ औपन्यासिक स्वादभन्दा माथि छ । याे उपन्यास मर्मज्ञ दाहालको मर्मभेदन पनि हो । वाङ्मयको सेवा, भाषासाहित्य उन्नयनको उपलव्धिमूलक कार्य पनि हो ।

‘अस्मिता’ उपन्यासको अन्तिम अंशमा लेखिएको छ– ‘पिंकलाले झोलाबाट दुईटा साना पुस्तिकाहरू ‘सत्य वचन’ र ‘पवित्र वचन’ झिकिन् । दौडेर कौशिकी नदीको किनारामा पुगिन् ।  पवित्र नदीको पानी अँजुलीले उभाइन् । शिरमा छर्किन् र आफूलाई चोख्याउने चेष्टा गरिन् । अनि ती पुस्तिका नदीमा बगाइदिइन् । उनी बग्दै गरेका ती ‘सत्य वचन’ र ‘पवित्र वचन’ लाई हेर्दै थिइन् । तल पुगेर कुनै ढुंगामाअड्किएर केहीबेर रोकिए, ल्यात्त भिजे र पानीमा मिले । पिंकलाको दिमाग पखालियो । शायद ती पुस्तिकाले पनि पवित्र कौशिकी नदीमा बग्न पाएर यो लोकबाट मुक्ति पाए होलान् ।’

भनिन्छ, ठूला नदीमा मिसिने साना नदीले पनि सागर दर्शन गर्न पाउँछन् । भवानी भिक्षुले धेरै पहिला लेखेका थिए– मानिसले आफ्नो यात्रा आफै तय गर्नुपर्छ । कसैले कसैको पूरै यात्रामा साथ दिँदैन । महाकवि देवकोटाले जीवनको अन्तिम क्षणमा भनेकै हुन्– आखिर श्रीकृष्ण रहेछ एक । यो उपन्यासले दिएको सन्देश हो– धनतेज, बलतेज, यौवनतेज र जीवन भनेको असारे झरी पर्नुअघि चम्किएका बिजुलीझैं क्षणिक हुन् ।

मान्छेका जीवन आउँछन्, जान्छन् । सत्य समय हो, समय सधैं अटल छ, अटल रहिरहन्छ ।

गर्ग संहिता अनुसार जहाँ असल भावना हुन्छ, त्यहाँ भगवानको वास हुन्छ । उपन्यासकार डा. केआर दाहाल असल मानिस हुन् । यो उपन्यास असल मानिस निरन्तर असल काम गरी नै रहन्छ भन्ने अर्को उदाहरण पनि हो । किनकि एउटा शिक्षक, एउटा प्राध्यापक, जसले हरेक दिन ज्ञान दिइरहेको छ, ऊ बढी मान्छे हो ।

मान्छेभित्र स्वभाविकरुपमा कमी-कमजोरी हुन्छन् । ती कमजोरीलाई किनारा लगाएर उपन्यासकारले आफ्नो घर,आफ्नो समाज, आफ्नो राष्ट्र र सारा विश्वलाई उपन्यासबाट ज्ञान छरेका छन्– आफ्नो संस्कार, संष्कृतिको कुनै तोड छैन । उपन्यासको सार यही हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV