२४ माघ २०७७, शनिबार
  • बाल बिक्रम कार्की

रौतहट, २४ माघ । लायन्स क्लव अफ चन्द्रनिगाहपुरको आयोजनामा रौतहटको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा शुक्रबारदेखि दुइदिने निशुल्क महिला प्रजनन स्वास्थ्य शिविर शुरु भएको छ ।

महिलाहरुमा हुने विभिन्न किसिमका रोगहरुको परिक्षण गर्दै निःशुल्क औषधिको व्यवस्था गरिएको सो सिविरमा शुक्रबार ६ सय महिलाले आफ्नो स्वास्थ्य परिक्षण गराएको लायन्स क्लव अफ चन्द्रनिगाहपुरका अध्यक्ष वासुदेव अधिकारीले जानकारी दिनुभयो । सो सिविरमा महिलाहरुको प्रजनन सम्बन्धि समस्याहरुको पहिचान गर्दै उचित उपचार र परामर्श सेवा प्रदान गरिएको अधिकारीले बताउनुभयो ।

कतिपय महिलाहरुमा प्रजनन् सम्बन्धि समस्या भएपनि लाज तथा आर्थिक अभावमा उपचार नगरि घरमै बसिरहने समस्या देखिएका उनीहरुको उपचार सहज र सरल तरिकाबाट होस् भन्ने उद्धेश्यले शिविरको आयोजना गरिएको सो स्वास्थ्य शिविरका कार्यक्रम संयोजक निशा कोइरालाले बताउनुभयो ।

सो शिविरमा परिक्षणको क्रममा आङ्ग खस्ने समस्या पाइएमा उनीहरुको काठमाडौँ स्थित अस्पतालमा निशुल्क अप्रेशन सहितको उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । यसैगरी शुक्रबार परिक्षणको क्रममा पहिलो चरणको पाठेघरको क्यान्सर देखिएका १६ जना महिलाहरु पनि शिविरमै उपचार गरिएको उहाँले बताउनुभयो ।

चन्द्रपुर नगरपालिकाको सहकार्य तथा सामुदायिक सेवा प्रतिष्ठानको प्राविधिक सहयोगमा संचालित सो शिविरबाट आफुमा प्रजनन् सम्बन्धि समस्याभएपनि खुलेर परिक्षण गर्न नजाने महिलाहरुलाई लाभ पुग्ने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता खाले स्वास्थ्य शिविरहरु संचालन गर्न नगरपालिकाले आगामि दिनमा विभिन्न संघसस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको भन्दै नगरवासीको स्वास्थ्य विकासको लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो शिविरमा चन्द्रपुर अस्पतालका मेसु स्त्री रोग बिशेषज्ञ डाक्टर सन्दीप साह, स्त्रीरोग विशेषज्ञ डाक्टर निति लामिछाने , डाक्टर आशिष बस्नेत लगायतको स्वास्थ्यकर्मीहरुको टोलीले महिलाहरुको स्वास्थ्य परिक्षण गर्ने संस्थाका रिजन चेयरपर्सन विनोद गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV