संसद विघटन हैन, हाम्रै जिन्दगी विघटन भएजस्तो !



प्रकाशित मिति : Feb 06, 2021
  • विजय साह

हाम्रो देश यतिबेला गम्भीर राजनीतिक संकटको अवस्थामा छ । राजनीतिक स्थिरता र दिगो विकास नारामा मात्र सीमित रहेको हामी नेपालीले अहिले महशुस गर्दैछौँ । तत्कालीन संविधान सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्यो । त्यसपश्चात् हामी नेपालीको मनमा अब भने हाम्रो देशमा राजनीतिक स्थिरता हुन्छ है भन्ने ठूलो विश्वास थियो । तर संविधान आएपछिको पहिलो निर्वाचित सरकारको कार्यशैली र अल्पायुमै संसद विघटनसम्म आइपुग्दा हामी  राजनीतिक अस्थिरता र दिगो विकासको भ्रममा छौँ कि भनेर सोच्न बाध्य बनायो ।

यतिबेला देशको सम्पूर्ण वर्गको ध्यान सर्वोच्च अदालततर्फ मोडिएको छ । आउने दिनमा सर्वोच्च अदालतले के निर्णय गर्छ, यो हामी सबैका लागि चासोको विषय हो । तर हामीले झण्डै दुई तिहाई मत दिएर निर्वाचित गरेको सरकारले के कति कार्य गर्यो ? अनि संविधान कार्यान्वयनप्रति कति प्रगति गर्यो ? सरकारी भूमिका हेर्दा हामी निराश हुने अवस्था छ ।

नयाँ संविधान कार्यान्वयनको विषयमा सबैभन्दा महत्वपूर्ण र प्रत्यक्ष रुपले जनताको जिवनसँग जोडिएको विषय हो नागरिकता सम्बन्धि विधेयक जुन विधेयक संविधान जारी भएको पाँच वर्ष वितिसक्दा पनि पास नभएर ऐन नबनेको अवस्था छ । नागरिकता जस्तो संवेदनशील विषयको समाधान नहुँदा देशमा लाखौँको संख्यामा जनताहरु नागरिकता-पीडित र राज्यविहिन भएर वस्नुपरेको अवस्था छ । ति लाखौँ नागरिकता पीडितहरु मध्य धेरै जसो युवाहरु रहको पाइन्छ । प्रायः अनागरिक हुनुको मुख्य कारण बुवाको जन्मसिद्ध नागरिकता हुनु र आमाको नामबाट नागरिकता नपाउनु हो । तर अहिलेको संविधानको धारा १० र धारा ११ मा नागरिकता दिने स्पष्ट प्रावधान भए पनि विधेयक पारित नहुँदा लाखौँको संख्यामा  जनताहरु आफ्नै देशमा अनागरिक तथा राज्यविहिन भएर बस्नुको पीडा छ, जुन हामी कल्पना पनि गर्न सक्दैनौँ ।

व्यक्तिसँग नागरिकता नहुँदा उसलाई दैनिक जीवनयापनदेखि सम्पूर्ण क्षेत्रमा निकै कठिनाइ हुँदोरहेछ भन्ने कुरा विभिन्न तथ्यले पनि पुष्टि गर्दछन् ।

नागरिकता नहुँदा-

  • राज्यका सम्पूर्ण सेवा-सुविधाबाट वञ्चित हुनुपर्छ ।
  • आफ्नो मौलिक अधिकार, सामाजिक अधिकार, मानव अधिकार, सांकृतिक अधिकार, आदिबाट वञ्चित हुनुपर्छ ।
  • सामान्य बैंक खाता तथा  सिम समेत संचालन गर्न पाइँदैन ।
  • युवाहरुका लागि सबैभन्दा महत्वपूर्ण कुरा जागिर गर्न सक्दैनन् । जसले गर्दा युवाहरुको भविष्य नै अन्यौलमा पर्छ र जिन्दगी बर्बाद हुने डर बढ्न थाल्छ ।
  • विदेश गएर पढ्ने अथवा कमाउने कुराको कल्पना समेत गर्न सकिँदैन ।
  • दैनिक जीवनयापनका लागि सानोदेखी ठूलो सबैजसो कामका लागि नागरिकता अनिवार्य चाहिन्छ ।

आखिर देशको राजनीतिक अस्थिरताको शिकार कहिलेसम्म जनता बनिरहने हो ? अहिलेको संसद विघटनले कसैलाई ठूलो पीर परेको छ भने त्यो हो देशको ठूलो संख्यामा रहेका युवा वर्ग । त्यसमा पनि नागरिकता–पीडित युवाहरू, जो अहिलेसम्म पनि राज्यविहिन हुन बाध्य छन् । किनभने नागरिकतासम्बन्धी विधेयक २०७५ साल साउन २२ गते दर्ता भएर प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति’मा पुग्यो र त्यहाँ दफावर छलफल भएर जसोतसो २२ महिनापछि २०७७ साल असार ०७ गते उक्त विधेयक सम्बन्धि प्रतिवेदन समितिबाट पास भएर २०७७ साल असार ०९ गते प्रतिनिधिसभामा पेश भयो । पेश भएको केही दिनपछि नै संसद अधिवेशन अन्त्य गरियो । त्यसपछि सम्पूर्ण नागरिकता पीडित युवावर्गहरुको ध्यान अब आउने अर्को अधिवेशन तिर केन्द्रित भयो, जुन अघिल्लो अधिवेशन अन्त्य भएको छ महिनाभित्र बोलाउने संवैधानिक व्यवस्था छ ।

तर वर्तमान सरकारले आफ्नो आन्तरिक पार्टीभित्रको संघर्षका कारण प्रतिनिधिसभाको अधिवेशन बोलाउनुअगावै पुस ५ गते संसद नै विघटन गरिदियो । यसले गर्दा फेरि एकपटक लाखौँ नागरिकता-पीडित युवाहरुका मनमा निराशा छाएकाे छ । यो संसद विघटन नभएर आफूहरुको जिन्दगी विघटन भएजस्ताे लागेकाे पीडितहरूको बुझाइ छ ।

सुनसरीको इटहरीमा घर भएका नागरिकता-पीडित युवा समीर (नाम बद्लिएको) भन्नुहुन्छ,  “मेरो जन्मस्थान इटहरी नै भएकाले बाल्यकालदेखि स्नातक सम्मको पढाइ मैले यहीबाट सकेँ ।  मसँग जन्मदर्तादेखि लिएर पढाइका सम्पूर्ण प्रमाण-पत्रहरु छन् । मेरा आमा र बुवा दुवै जनाको नागरिकता तथा मतदाता परिचय-पत्रहरु छन् । त्यसैगरी बुवाको नाममा रहेको जग्गाको लालपूर्जा र बिजुलीको बिलदेखी लिएर नागरिकताको सिफारिसका लागि चाहिने सम्पूर्ण कागज-पत्र, प्रमाण-पत्रहरु छन् । तर पनि मैले नागरिकता पाएको छैन । अहिले नागरिकता नपाउनुको कारण हो- बुवाको जन्मसिद्ध नागरिकता नहुनु र नागरिकता विधेयक पास नहुँदै संसद विघटन हुनु । जसको कारण आजसम्म मैले आफ्नो भविष्य अन्धकारतर्फ धकेलिएको महशुस गरिरहेछु, किनकि जीवनका हरेक पाइलामा नागरिकता नभई नहुने  चीज रहेछ ।

त्यसैले हामी भन्न सक्छौँ- नागरिकता भनेको अत्यन्तै संवेदनशील विषय हो र यो प्रत्यक्ष रुपले व्यक्तिको जीवनसँग जोडिएको हुन्छ । अझ हामी भन्न सक्छौँ- व्यक्तिको जीवन र नागरिकता भनेको साईकलका दुई पाँग्राजस्तै हुन् । जसरी एउटा पाँग्राबिना साईकल चल्न सक्दैन त्यसरी नै नागरिकताबिना जीवन चल्न सक्दैन ।

हामी आशा गर्छाैँ- आउने दिनमा देशमा स्थिरताको माहाेल भई चाँडोभन्दा चाँडो नेपाल सरकारले यस संवेदनशील विषयलाई गम्भीरतापूर्वक र प्राथमिकताका साथ समाधान गर्नेछ । र, देशका सम्पूर्ण निर्दोष नागरिकता-पीडितहरुले छिटोभन्दा छिटो न्याय पाउनेछन् । अनि एकपटक फेरि नयाँ जीवनको सुरुवात गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com