२३ माघ २०७७, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), २३ माघ । जिल्ला अदालत पर्साका १ नम्बर न्यायाधीश धर्मराज पौडेलले सञ्चारकर्मीहरुले कलम चलाउँदा न्यायालयको स्वतन्त्रता, स्वच्छता र निष्पक्षतातर्फ ध्यान पु-याउनुपर्ने कुरामा जोड दिएका छन् ।

जल्ला अदालत पर्सामा आयोजित सञ्चारकर्मी र न्यायधीश भेटघाट कार्यक्रममा बोल्दै पौडेलले विविध कारणले अदालतमा विचाराधीन रहेका मुद्दाको वादी वा प्रतिवादीलाई दोषी वा निर्दोष प्रमाणित गर्ने गरि समाचार लेख्दा न्यायिक काममा प्रभाव पर्ने भएकाले अदालत सम्बन्धी समाचार लेख्दा ध्यान पु¥याउनुपर्ने बताएका हुन् ।

‘अधिकार र न्याय कसैलाई इन्कार र विक्री गरिदैन, न्याय विक्री गर्नुपर्ने कुरा होइन, यदि कुनै व्यक्तिले न्यायकर्मीको नाम बेचेर अनाधिकृत रुपमा रकम असुली गरिरहेको छ अर्थात त्यस्तो प्रयास गरिरहेको छ, भने हामीलाई तत्काल जानकारी गराउहोस्’ पौडेलले भने ।

पर्सा अदालतमा ९ वटा बेन्चहरुमा ९ जना न्यायाधीशहरु रहेका छन्, जसमा एउटा बेन्चमा कम्तीमा ५ जना कर्मचारी हुनुपर्नेमा २ देखि ३ जना कर्मचारीको भरमा काम गर्नुपर्ने भएकोले कर्मचारीको दरबन्दी बढाउनुपर्ने बताए ।

उनले भने, ‘न्यायाधीश बढाउने र कर्मचारी दरबन्दी यथावत राख्ने गरेको कारण पनि पर्सा अदालतमा जनशक्ति अभाव भएको हो । तर जनशक्ति अभावकै कारण कसैले न्याय पाएन, भन्ने अवस्था छैन ।’

जनशक्ति अभावतर्फ ध्यान दिनुभन्दा पनि भएको जनशक्तिबाट कसरी न्याय दिन सकिन्छ भन्नेतर्फ आफूहरु केन्द्रित रहेको पनि उनले दाबी गरे । स्थानीय तहको सन्दर्भमा बोल्दै न्यायधीश पौडेलले कानूनले स्थानीय तहलाई दिएको न्याय सम्बन्धित अधिकारको लागि प्रत्येक पालिकाका जनप्रतिनिधिहरुलाई प्रशिक्षणको आवश्यकता रहेको बताए ।

कानूनले प्रत्येक पालिकामा न्यायिक समिति गठन गर्ने र नागरिकहरुलाई स्थानीय तहमै न्याय दिने दिएको अधिकारको सदुपयोग हुन नसकेकाले स्थानीय तहलाई दिएको अधिकार सदुपयोगको लागि त्यस सम्बन्धी आबद्ध जनप्रतिनिधिहरुलाई कानून सम्बन्धी प्रशिक्षण दिनुपर्ने र त्यसको लागि जिल्ला अदालतसँग समन्वयको आवश्यकता रहेको बताए ।

यसैगरि कार्यक्रममा पर्सा अदालतका तहसिलदार विनोद पोखरेलले अदालतमा दण्ड जरिवाना असुली कार्य चुनौतीपूर्ण रहेको भन्दै पर्सा अदालतले अहिले जरिवाना असुली कार्यमा तदारुक्ता दिएको बताए ।

उनले विभिन्न मुद्दामा जरिवाना गरिएकाहरु खास गरेर भारतीय नागरिक भएको कारण उनीहरुले भारततर्फ जाने गरेको र हतपति पक्राउ गरेर पनि ल्याउन सकिने अवस्था नरहेको कारण पनि जरिवाना असुल्नमा समस्या हुने गरेको उनले बताए ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले न्यायालयहरुमा हावी रहेका विचौलियाहरुको कारण अन्यायमा परेका आम नागरिकहरुले न्याय पाउनमा समस्या हुनुको साथै निर्दोष व्यक्तिहरु पनि अदालतको दायरामा पुग्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

उनीहरुले अदालती भाषा र काम कारवाही सबैलाई जानकारी नभएको कारण पीडितहरुले न्यायको लागि न्यायालयमा पुग्दा विचौलियाहरुको कारण न्याय पाउनुको सट्टा विभिन्न प्रकारका झन्झटबाट झन पीडित बन्ने गरेको बताएका छन् ।

कार्यक्रममा पर्सा अदालतका २, ३, ४, ५, ६, ७ नम्बर बेन्चका न्यायधीशहरु क्रमशः भोलानाथ ढकाल, नारायण प्रसाद शर्मा, माधव प्रसाद मैनाली, हरिकृष्ण श्रेष्ठ, राजेश कुमार कटुवाल, उद्धव प्रसाद गजुरेल लगायत सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV