२३ माघ २०७७, शुक्रबार
  • रिया भण्डारी,

काठमाडौं, २३ माघ । चीनले नेपाललाई दिन लागेको सिनोफार्म कोरोना खोपले नेपालमा आपतकालीन अनुमति अझै पाएको छैन । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप चीनले नेपाललाई अनुदानमा दिने भनिएको छ ।

तर, उक्त खोप कम्पनीलाई प्रि–क्लिनिकल ट्रायलको कागजात पेश गर्न औषधि व्यवस्था बिभागले अनुरोध गरेको छ । हालसम्म नेपालमा अक्सफोर्ड एक्स्ट्राजेन्काको खोप बाहेक अन्यले आपतकालीन प्रयोग अनुमति पाएको छैन ।

दुई महिना अगाडि औषधि व्यवस्था बिभागले आपतकालीन प्रयोगका निम्ति खोप दर्ता गर्न सार्बजनिक सूचना निकालेको थियो । त्यसबेला नै चीनको सिनोफार्म, बायोटेक, सेरम कम्पनीको निबेदन परेको थियो ।

खोप दर्ता प्रक्रियाको लागि सम्बन्धित देशले दिएका आधिकारिक प्रमाण, प्रि क्लिनिकल अध्यायनमा भएका उपलब्धि र नतिजाको सारांश आवश्यक पर्ने हुन्छ ।

तर चीनको सिनोफार्म कम्पनीको खोप दर्ताका लागि आवश्यक कागजात अपुग भएको कारण औषधि व्यवस्था बिभागले अनुमति दिन नसकेको जनाएको छ ।

खोपको आपतकालीन प्रयोग अनुमति दिन तेस्रो चरणको परीक्षण पूरा गरेको कागजात, परीक्षणको नतिजा र सम्बन्धित देशको नियामक निकायलाई बुझाएको कागजातको सक्कल हुनुपर्छ । तर, चिनियाँ कम्पनीको खोप नेपालमा आपतकालीन अनुमति दिन कागजात अपुग भएकोले पर्खिरहेको औषधि व्यवस्था बिभागले जनाएको छ ।

नेपालको लागि चीनले करिब ३ लाख मात्रा खोप नेपाललाई अनुदानमा सहयोग गर्न लागेको छ । चिनियाँ दूतावासले गत सोमबार औषधि व्यवस्था विभागसँग आपतकालीन प्रयोग अनुमति प्रक्रियाबारे छलफल गरेको थियो ।

तर, कागजात नपुगी चिनियाँ खोपलाई अनुमति नदिने औषधि व्यवस्था बिभागको अडान छ । चिनियाँ खोपले हालसम्म पाकिस्तान, साउदी अरब, इण्डोनेसिया, हंगेरी लगायतका देशमा आपतकालीन अनुमति पाएको छ ।

नेपालले भारतमा सिरम इन्स्टिट्यूटले उत्पादन गरिरहेको अक्सर्फोड एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोपलाई मात्रै हालसम्म आपत्कालीन प्रयोगको लागि अनुमति दिएको छ । यता रसियाले उत्पादन गरेको ’स्पुतनिक भी’लाई पनि नेपालमा मान्यता दिलाउने प्रयास भने जारी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV