२२ माघ २०७७, बिहीबार

काठमाडौं, २२ माघ । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपालबीचको गठबन्धन अपवित्र रहेको आरोप लगाउनुभएको छ ।

बिहीवार नेकपा बागमती प्रदेश कमिटीद्वारा आयोजित स्वयंसेवक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले माधव नेपालले पार्टीभित्र सधैँ कुण्ठा मात्र पाल्ने गरेको भन्दै प्रचण्ड–नेपाल बीचको गठबन्धन पनि अपवित्र रहेको बताउनु भएको हो ।

नेता नेपालको विचार कुण्ठाको भारी बोकेको एउटा पात्रले बोल्ने बिचार रहेको पोखरेलको भनाइ छ । अन्तर–विरोधमा खेल्ने प्रचण्ड र कुण्ठामा रमाउने नेपालको गठबन्धनलाई पराजित गर्दै लैजाने उहाँले दावी गर्नुभयो ।

पार्टीमा भागबण्डा खोजेकै कारण संवैधानिक आयोगमा लामो समय नियुक्त गर्न नसकिएको भन्दै प्रचण्ड–नेपाल पक्ष बाहिरिएसंगै सहज रुपमा आयोगले पूर्णता पाएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेता महेश बस्नेतले अराजकतातर्फ लैजाने प्रवृत्तिलाई परास्त गर्न आफूहरु सफल हुने बताउनुभयो । कार्यक्रममा नेता बस्नेत, माधव ढुंगेल लगायतका युवा तथा विद्यार्र्थी नेताले प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV