२२ माघ २०७७, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), २२ माघ । नेकपा दाहाल–नेपाल समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव वीरगन्जमा आँशिक रुपमा परेको छ । विहानैदेखि वीरगन्ज बजारका पसलहरु बन्द रहेको अवस्थामा सुरक्षा प्रत्याभूति महसुस गरेसँगै अपरान्हदेखि छिटफुट रुपमा पसलहरु खुलेका छन् ।

आज विहानैदेखि नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताहरु पसलहरु बन्द गराउन खोज्दा प्रहरी र कार्यकर्ताबीच झडप समेत हुने अवस्था सिर्जना भएर वीरगन्ज बजार केहीबेर तनावग्रस्त बनेको थियो ।

कार्यकर्ताहरुले टायर बालेर बजार बन्द गराउन खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र कार्यकर्ताबीच झडप समेत भएको थियो । तर प्रशासनले खटाएको सुरक्षाकर्मीहरुको तदारुक्ताको कारण नेपाल बन्दको पूर्ण प्रभाव वीरगन्जमा पर्न सकेन ।

मोटरसाइकलमा पार्टीको झण्डा बोकेर हिँड्ने, समूह बनाएर उत्श्रृङ्खल कार्य गर्न खोज्ने तथा बजार बन्द गराउने समूहलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिन थालेपछि बन्दको प्रभाव कम भएको थियो ।

अपरान्ह १२ बजे पश्चात वीरगन्जका अधिकाँश पसलहरु खुलेका छन् भने केही पसलहरु बन्द नै रहेका छन् । महानगरको विभिन्न चोक चोकमा ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरीहरु खटाइएको छ ।

कुनै किसिमको उत्श्रृङ्खल कार्य गर्न खोज्ने समूहलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा लग्ने गरेको छ । हालसम्म प्रहरीले ३० जना भन्दा बढी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर राखेको छ ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले नेपाल बन्दको प्रभाव वीरगन्जमा न्यून परेको बताएका छन् । उनले नेकपा प्रचण्ड माधव समूहले आह्वान गरेको नेपाल बन्दलाई मध्यनजर गर्दै एकाविहानैदेखि कडाईका साथ सुरक्षाकर्मी परिचालन गरेको कारण बन्दको प्रभाव वीरगन्जमा न्यून परेको बताए ।

वीरगन्जका अधिकाँश पसलहरु खुल्ला नै छ । बजारमा पूर्ण रुपमा चहल पहल छ । साना ठूला सवारी साधनहरु चलेकै छन । त्यसैले बन्दको प्रभाव नपरेको भन्दै प्रजिअ तामाङ्गले सुरक्षाकर्मीको परिचालनको कारण यहाँ बन्दको खासै प्रभाव नपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV