२१ माघ २०७७, बुधबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), २१ माघ । पर्सा प्रहरीले गएराति वीरगन्ज महानगरपालिका–२९ मुसैलीबाट अबैध लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका–३ बस्ने सतन साह सोनारको छोरा २८ वर्षीय जादु साह सोनार रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरी गस्ती टोलीले नियमित चेकजाँचको क्रममा मुसौलीस्थित सडक खण्डमा दुई जना पुरुषहरु मोटरसाइकल चढेर आइरहेको अवस्थमा निजहरुलाई रोक्न खोज्दा मोटरसाइकल घुमाई भाग्न खोजेपछि पछाडि बसेका व्यक्तिलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा निजको साथबाट अवैध लागूऔषध चरेश बरामद गरेको हो ।

निजको साथबाट प्रहरीले ५ सय ६० ग्राम लागूऔषध चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद गरिएको लागूऔषध चरेशसहित पक्राउ परेका सोनारलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

यसैगरि गएराति नै पर्सा प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण थाना रामगढवा ग्राम चम्पापुर घर भई हाल जिल्ला वीरगन्ज महानगरपालिका–११ स्थित मोहन सापकोटाको घरमा डेरा लिई बस्दै आएका ३६ वर्षीय असरफ मियाँ रहेका छन् ।

निजले आफ्नी श्रीमती बारा जिल्ला जितपुर सिमरा घर भएकी २३ वर्षीया मनु थापा क्षेत्री भन्ने युनिका थापाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

निजहरु बस्ने डेरामा घाँटी कसी मारेको जस्तो, घाँटी वरिपरि डाम देखिएको शंकास्पद अवस्थामा थापाको शव ओछ्यानमा फेला परेकोले आवश्यक अनुसन्धानको लागि निजका श्रीमानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV