२१ माघ २०७७, बुधबार
  • अमर काफ्ले

इनरुवा, २१ माघ । सुनसरी प्रहरीले इनरुवाको बलाहा नहर क्षेत्रबाट अढाई क्विन्टल गाँजा बरामद गरेको छ । ब्यारिकेटलाई ठक्कर दिदै भागेको को १ च ९८५२ नम्बरको स्कारपियोबाट सुनसरी प्रहरीले सो परिमाणको गाँजा बरामद गरेको हो ।

सुराकीका आधारमा चतराबाट स्कारपियो पछ्याएको प्रहरीले बलाहा नहरबाट गाँजा सहितको गाडी नियन्त्रणमा लिएको थियो ।

प्रहरीको ब्यारिकेट भत्काउँदै हुईकेको स्कारपियोले दुईवटा मोटरसाइकलमा समेत ठक्कर दिएको छ । सो क्रममा ब्यारिकेट उछिटिएर चतरा कोशी पुलमा ड्यूटीमा खटिएका प्रहरी जवान उदय राई घाइते भएका छन् ।

रातीको १ बजेबाट गाँजा लोड गरिएको गाडीको पिछा गरेको प्रहरीले स्कारपियोलाई नियन्त्रणमा लिन एक राउण्ड फायर समेत गर्नु परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै दिइएको जानकारी अनुसार प्रहरीको चेक पोइन्ट र ब्यारिकेट उछिन्दै भागेको स्कारपियोलाई सखुवागाछीमा रोक्न गाडी तेसाईएपछि नहर तर्फबाट भाग्ने क्रममा बलाहा खण्डबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले स्कारपियोबाट प्लाष्टिकले बेरिएको तयारी अवस्थाका ९ ओटा बोराबाट २ सय ५० केजी गाँजा बरामद गरिएको जनाएको छ । गाँजा सहित प्रहरीले २ थान खुकुरी र १ लाख ५४ हजार नगद समेत बरामद गरेको छ ।

पत्रकार सम्मेलनमा गाँजा सहित पक्राउ परेका भोजपुर हतुवागढी ९ का अर्जुन खड्का र धरानका ज्याक्सन श्रेष्ठलाई समेत प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार पक्राउ परेकाको हकमा म्याद थप गरी अनुसन्धान थालिएको छ । उनीहरु सँगको संलग्नताको आधारमा अन्य व्यक्ति समेतको खोजी थालिएको प्रहरी प्रमुख थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV