२१ माघ २०७७, बुधबार

काठमाडौं, २१ माघ । संवैधानिक निकायका पदाधिकारीहरूको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् ।

विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरूले बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा सपथ लिएका थिए ।  उक्त सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।

सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलगायत सहभागी भएका थिए ।

सभामुख सापकोटा नियुक्ति सिफारिसको निर्णय गरिएको मंसिर ३० गतेको बैठकमा पनि अनुपस्थित हुनुहुन्थ्याे । केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सिफारिस पत्र सक्कलै फिर्ता गरिदिनुभएकाे थियाे ।

प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा आफू अनुकूल मानिसहरू सिफारिस गर्न संवैधानिक परिषदको गणपूरक संख्या नै परिवर्तन गरी अध्यादेश ल्याएउनु भएकाे थियाे । उहाँले संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश  ल्याउनुभएकाे थियाे ।

सोही अध्यादेशअनुसार बसेको परिषद् बैठकले विभिन्न पदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते नै प्रतिनिधि सभा विघटन गर्नुभएकाे थियाे ।

मंगलबार ४५ दिन पुगेपछि नियमावली अनुसार उनीहरूलाई संसदीय सुनुवाइबिनै नियुक्त गरिएको हो । संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV