२१ माघ २०७७, बुधबार
  • शितल भट्ट 

कञ्चनपुर, २१ माघ । केही दिन अघि कञ्चनपुरको आरक्ष पीडित बस्ती ढक्का शिविरमा जंगली हात्ती आतंकले १३ घरपरिवारकाे विचल्ली पारेको थियो । लालझाडी बन क्षेत्रबाट आउने जंगली हात्तीकाे बथानले शिविरका १३ घर पूर्ण रुपमा भत्काउनुका साथै घरभित्र रहेकाे अन्नबाली समेत नष्ट गरेकाे थियाे । मंगलबार उक्त पीडित परिवारलाई हिमानी काेषद्वारा खाद्यान्न सामग्री सहित सिल्पिङ वेड वितरण गरिएको हिमानी काेषका जिल्ला सह-संयोजक हरिस साउदले बताए ।

उनले हात्ती पीडित परिवारलाई ५० किलो चामल र सिल्पिङ वेड वितरण गरिएको बताए । पछिल्लो समय हिमानी काेषले विपद् र समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आइरहेको सह-संयोजक साउदकाे भनाइ छ । साेहि अनुरुप आफूहरू पनि उद्दारमा खटिएको बताए । राहत सामग्री हस्तान्तरण कार्यक्रममा हिन्दू राष्ट्र संघका केन्द्रीय सदस्य गजेन्द्र बहादुर चन्द लगायतका युवाहरूको सहभागी रहेको थियो ।

हात्ती पीडित बस्तीमा स्थानीय सरकारले साैतेनी व्यवहार गरेको बताउँदै शिविरका स्थानीय हात्ती पीडित भन्छन्, ‘स्थानीय सरकारकाे नमुनाका रुपमा रहेको यस लालझाडी गाउँपालिकाले सहयोग गर्नु त परैजाओस् ! के कसाे भयाे ! भनेर गाउँपालिका अध्यक्ष मदन सिंह बडायक एकदिन पनि बस्तीमा आएनन् ।’

‘याे क्षेत्र लालझाडी गाउँ पालिका ६ मा पर्ने भए पनि बेलाैरी नगरपालिकाकाबाट नगर प्रमुख पाेतिलाल चाैधरीले स्वयं बस्तीमा आएर राहत सामग्री सहयोग गर्नुभयो तर लालझाडीका अध्यक्ष बडायकले वेवास्ता गरे । चुनावमा हाम्रो भाेट चल्ने तर न्याय माग्दा न्याय नचल्ने भन्दै स्थानीय पदम भारतीले दु:ख व्यक्त गरे,’ स्थानीय लेखराज भारती भन्छन्,  ‘०५८ सालबाट सरकारले आरक्ष विस्तारका नाममा लखेटेर झण्डै २४ सय परिवारलाई सडकमा उतार्याे । हामी सरकारबाट पीडित त थियौं, जङ्गली जनावरबाट पनि पीडित भयौं । आज हिमानी काेषले दुखमा मलम लगाउन भएपनि केही राहत सामग्री सहयोग गरेकोमा आभार प्रकट गर्दैछौं ।’

गत आइतबार जङ्गली हात्तीको बथानले आरक्ष पीडित बस्तीमा स्थानीय पार्वती नाथ, लेखराज भारती, रतन भारती, पदम भारती, शिवराज भारती, जग खत्री लगायतका १३ घर परिवारको विचल्ली पारेको थियो । सरकारले ढक्का शिविरका आरक्ष पीडितकाे उचित व्यवस्थापन नगरे सम्म जङ्गली जनावरबाट दु:ख पाउनुका साथै ज्यानको जाेखिम पनि उत्तिकै देखिन्छ । तसर्थ विस्थापित आरक्ष पीडित परिवार पुर्नस्थापनाकाे पर्खाइमा छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV