२१ माघ २०७७, बुधबार

दार्चुला, २१ माघ । छेउमै महाकाली नदी बगे पनि लेकम गाउँपालिका–३ रतौडा गाउँमा खानेपानीको हाहाकार छ । रतौडा गाउँका विद्यार्थी बालबालिकाहरु र महिला पानी भर्न दैनिक गाउँबाट झण्डै पाँच सय मिटर तल महाकाली नदी ओर्लिनुपर्ने बाध्यता छ । गाउँमा खानेपानीको मुहान छैन् । स्थानीय लीलाधर पन्तले भन्नुभयो, पल्लो गाउँबाट पाइपमार्फत ल्याएको पानी कहिले–काँही त आउने गथ्र्यो, तर सडक निर्माणको क्रममा उक्त खानेपानी लाइन अवरुद्ध भएपछि पिउनका लागि समेत महाकालीबाट पानी बोक्नुपरेको छ ।

पानी बोक्दा बोक्दै कम्बर र काँधमा निलडाम बसेको स्थानीय महिलाहरुले दुःखेसो पोखेका छन् । विहान, बेलुकी पानी बोक्नुपर्ने भएकोले आफूहरुको पढाइ छुट्ने गरेको गुरुकुल मावि दशरथचन्द नगरपालिका–६ शेरामा कक्षा १० मा अद्ययनरत छात्रा मनीषा टमटाले गुनासो गर्नुभयो । खानेपानी नहुँदा वर्षौंदेखि महाकालीको धमिलो पानी बोकेर खानुपरेको अर्का स्थानीय रोशनी पन्तले बताउनुभयो ।

खानेपानी र गाउँमा सिँचाइ नहुँदा कृषि पेशा गरी खान मुश्किल भएको उहाँको गुनासो छ । गाउँमा तराईको जस्तै सम्म परेको खेत छ । खेतको छेउबाटै सुसाउँदै महाकाली नदी बग्छ तर सिँचाईको अभावमा रतौडाका बासिन्दाले आकाशेपानीको भरमा खेतीपाती लगाउनुपर्ने बाध्यता छ । चुनावताका सिँचाइ समस्या समाधानका लागि दलैपिच्छे नेताहरूले नारा र सपना मात्र देखाउने गरेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV