२० माघ २०७७, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), २० माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहालले वीरगन्जमा स्वच्छ र व्यावसायिक पत्रकारिताको विकास भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको २४ औं साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रममा उपस्थित दहालले पहिलेको तुलनामा यहाँको पत्रकारिता फड्को मार्दै नयाँ–नयाँ थपिएका पत्रकारहरुको कारण वीरगन्जको पत्रकारिता स्वच्छ र व्यवसायिक पत्रकारितातर्फ उन्मुख भएको भन्दै अझै यो भन्दा व्यवसायिक पत्रकारिताको विकास हुनुपर्ने बताए ।

वीरगन्ज आफै आर्थिक नगरी भएको कारण पत्रकारिताको हकमा यहाँ ठूलो सम्भावना छ । यहाँ पत्रकारिता मात्रै होइन, जुनसुकै व्यवसायको भविष्य उज्जवल रहेको कारण बढ्दो आधुनिक युगसँगै पत्रकारिता क्षेत्रमा लागेको नयाँ नयाँ सञ्चारकर्मीहरुको दक्षताको कारण पहिला भन्दा अहिलेको पत्रकारितामा परिवर्तन आएको उनले बताए ।

नेपाल पत्रकार महासंघको निर्वाचन सम्बन्धमा बोल्दै उनले पोखरामा भएको महासंघको साधारण सभाले प्रत्यक्ष निर्वाचित सहभागिता मूलक नेतृत्व चयनको लागि विधान संसोधन गरिएको जानकारी गराउँदै आउँदो निर्वाचन केन्द्र, प्रदेश र जिल्लाको एकैसाथ हुने बताए ।

अर्कोतर्फ सञ्चारकर्मीहरुको हकहितको लागि पनि नेपाल पत्रकार महासंघ लागि परेको महासचिव दहालको भनाइ छ । उनका अनुसार ठूलठूला मिडिया हाउसमा काम गर्ने सञ्चारकर्मीहरुले लामो समयदेखि पारिश्रमिक नपाउने गरेको समस्या खेप्नु परेको अवस्थामा यसवर्ष पारिश्रमिकको विषयमा नेपाल पत्रकार महासंघ खरो रुपमा उत्रेको बताए ।

उनले केही सञ्चारकर्मीहरुले कोरोना संक्रमण महामारीको बेला काम गरेको १० महिनाको तलब एकै पटक पाएको उदाहारण सुनाउँदै सञ्चारकर्मीको हकहितको लागि नेपाल पत्रकार महासंघ आगामी दिनमा टे«ड युनियन दर्ता प्रक्रियाको लागि पनि गृहकार्य भइरहेको बताए ।

टे«ड युनियन दर्ता हुँदा लामो समयदेखि सञ्चारकर्मीहरुले पारिश्रमिकको विषयमा भोग्नु परेको समस्याको हदसम्म समाधान हुने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्रा, प्रदेश नम्बर २ अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पूर्व अध्यक्ष अशोक तिवारी, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेल, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।

स्व. गोपाल गिरी स्मृति पत्रकारित पुरस्कार यादव र केसरीलाई

सोही कार्यक्रमबीच स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट वीरगन्जका दुईजना पत्रकार गया यादव र कन्हैयालाल केसरीलाई पुरस्कृत गरिएको छ ।

वीरगन्जबाट प्रकाशित हुने नारायणी टुडे दैनिक पत्रिकाका सम्पादक यादव र गोरखा पत्र दैनिक पत्रिकाका पर्सा सम्वाददाता केसरीलाई रु २५ हजारको चेक र सम्मान पत्रल सहित प्रमुख अतिथि दहालले पुरस्कृत गरेका थिए ।

सदस्यताका लागि सिफारिस नगरिएको भन्दै बिरोध प्रदर्शन

महासंघको उद्घाटन सत्र चलिरहँदा महासंघको भवनको मुल गेटमै एकजना सञ्चारकर्मीले बिरोध प्रदर्शन गरेका छन् । ‘म क्रियाशील पत्रकार होइन ? ‘क्रियाशील पत्रकारको परिभाषा के ?’ लेखिएको पम्पलेट लिएर महासंघको भवको मुल गेटमै बसेर सञ्चारकर्मी प्रणय साहले विरोध जनाएका छन् ।

उनले सदस्य सिफारिसमा विभेद भएकोले आफू सांकेतिक रुपमा विरोध गरेको बताए । शुरुमा एक्लै धर्नामा बसेका साहलाई केही बेरमा अन्य सञ्चारकर्मीहरुले पनि एक्यबद्धता जनाएका थिए ।

महासंघ पर्साको नयाँ सदस्यताको लागि ३० जनाको नाम महासंघको जिल्ला शाखाले प्रदेश शाखालाई सिफारिस गरेको छ ।
बन्दशत्र सम्पन्न

नेपाल पत्रकार महासंघ पर्सा शाखाको साधारणसभाको उद्घाटन समारोह पश्चात बन्द सत्र पनि सम्पन्न भएको छ । महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको बन्द शत्रमा महासंघ पर्साका सचिव युवराज खड्काले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भुषण यादवले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

दुबै प्रतिवेदनमाथि साधारण सभाका सदस्यहरुले महासंघको नयाँ सदस्यता वितरण भएको कमी कमजोरी सच्याउन, स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार क्रियाशील पत्रकारलाई दिनुपर्ने, पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नु पर्ने सुझाव दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV