२० माघ २०७७, मंगलवार
  • हरिकृष्ण गौतम,

म्याग्दी, २० माघ । सरकारले सातै प्रदेशमा कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाउने अभियान नै सञ्चालनमा ल्याइएको छ । यस अभियान अन्र्तगत म्याग्दीमा पहिलो चरणको खोप लगाउने कार्य अझै जारी छ ।

जिल्लाको अति विकट तथा दुर्गम स्थानमा कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप लगाउन पाउँदा त्यस क्षेत्रका वासिन्दा खुसी भएका छन् ।

नेपालमा गत बुधबारबाट पहिलो चरणको खोप लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दीमा पनि पहिलो चरणको खोप तीव्ररुपमा लगाइदैछ । खोप लगाउन जिल्लाका विभिन्न भागमा रहेका स्वास्थ्यकर्मी बेनी अस्पताल पुगिरहेका छन् ।

धवलागिरी गाउँपालिका १ गुर्जाबाट २ दिनको पैदल तथा सवारी साधनमार्फत् स्वास्थ्यकर्मी विष्णुमाया छन्त्याल कोभिशिल्ड खोप लगाउन बेनी अस्पताल पुगेकी छन् ।

उनी जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जा गाउँमा १८ वर्षदेखि महिला स्वास्थ्यसेविकाको जिम्मेवारी सम्हाल्दै आइरहेकी छन् । बिना पारिश्रमिक निःस्वार्थ भावले काम गर्ने गरेको अवस्थामा समुदायलाई कोरोनाको सन्देश र सावधानी अपनाउन घर–घरमा धाइरहेको अवस्थामा खोप लगाएपछि थप सुरक्षित भएको उनको भनाइ छ ।

पैदल र सवारीमार्फत सदरमुकामस्थित जिल्ला अस्पतालसम्म पुग्दा धेरै खचै हुने भएको भन्दै उनीहरुले गाउँगाउँमै खोप लगाउने व्यवस्था मिलाउनु पर्ने माग गरेका छन् । बजार झरेपछि पाइलै पिच्छे खर्च हुने भएकाले उनीहरुले दोस्रो चरणको खोप गाउँमै दिन अनुरोध गरेका हुन् ।

म्याग्दीका ६ वटै स्थानीय तहका ३ सय ७० स्वयंमसेविकालाई प्रथम चरणको खोप अभियानमा सहभागी बनाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

म्याग्दीमा पहिलो चरणमा ८ सय २१ जनालाई कोरोनाविरुद्ध खोप लगाइदैछ । फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स र शववाहन चालकलाई बाहेक ज्येष्ठ नागरिक आश्रममा बस्ने र कारागारका कैदीबन्दीलाई समेत खोप लगाइदैछ ।

जिल्लामा अहिलेसम्म खोप लगाएकाहरुमा कुनै पनि समस्या देखिएको छैन । खोप लगाएकाहरुमा कुनै समस्या देखिए तुरुन्तै हेलिकप्टरबाट उद्दार गरी उपचार गर्ने व्यवस्था प्रदेश सरकारले मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV