२० माघ २०७७, मंगलवार

काठमाडौं, २० माघ । तीनकुने कोटेश्वर सडक खण्डमा बन्ने सुरुङमार्ग सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।

झण्डै एक वर्षअघि सुरु भएको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । सडक विभागसँगको सहकार्यमा एक वर्षअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आफ्नै खर्चमा सम्भाव्यता अध्ययन सुरु गरेको थियो ।

उपत्यकाको सबैभन्दा धेरै जाम हुने ठाउँ भनेर चिनिने तीनकुने जडिबुटी सडकखण्डमा सुरुङ निर्माणपछि यात्रु धेरैबेरसम्म जाममा बस्नु पर्ने बध्यता हट्ने विश्वास गरिएको छ ।

अहिले कोरोना महामारीका कारण अध्ययन टोलीका प्रतिनिधिहरू जापानमै रहेकाले भर्चुअल प्रविधिमार्फत् विभागसँग नियमित सम्पर्क भइरहेको सडक विभागले जनाएको छ ।

बढ्दो जामलाई कम र व्यवस्थित गर्न सुरुङ मार्ग निर्माण गर्न लागिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएकाले फ्लाइ ओभर र सडक विस्तार गर्नुभन्दा पनि सुरुङमार्ग सुरक्षित हुने भएकाले यसको निर्माणमा जोड दिइएको सडक विभागको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV