२० माघ २०७७, मंगलवार

एजेन्सी, २० माघ । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तमिा दुई जनाको मृत्यु भएको छ । उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो ।प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो बिस्फोटमा दुई जनाको मृत्यु भएको र अरु दुई जना घाइते भएको जानकारी दिनुभयो । अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको पनि उहाँले बताउनुभयो ।

तेस्रो विस्फोटबाट कुनै क्षति भए नभएको विवरण प्राप्त भइनसकेको प्रहरी प्रवक्ता फरामार्जले जानकारी दिनुभयो ।

हालैका महिनामा सरकारी कर्मचारी, पत्रकार, वकील, अधिकारीकर्मी र सवारी साधनमाथि लक्षित गरी बम आक्रमणहरु नियमित झैं हुने गरेका छन् तर यी आक्रमणको कसैले पनि जिम्मेवारी लिने गरेको पाइएको छैन । सरकारले यी आक्रमणहरु अफगानिस्तानमा सक्रिय मुख्य विद्रोही समूह तालिबानले गराएको आरोप लगाउँदै आएको छ ।

यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तको कुन्दुज शहर नजिक सुरक्षाकर्मीसँगको भिडन्तमा चार सुरक्षाकर्मी र तीन जना विद्रोही लडाकूहरु मारिएका छन् । प्रान्तीय परिषदका प्रवक्ता फउजिया जवाद याफतालीले जाखिल खामदानमा रहेको सेनाको जाँच चौकीलाई लक्षित गरी तालिबान समूहले आक्रमण गर्दा दोहोरो भिडन्त भएको जानकारी दिनुभयो । उहाँले भिडन्तमा चार सैनिक र तीन विद्रोही लडाकूको ज्यान गएको पनि बताउनुभयो ।

उक्त घटानामा दुई सैनिक र तीन जना विद्रोही घाइते भएका छन् । अफगानिस्तानमा युद्धरत तालिबान र अफगान सरकारबीच कतारको दोहामा गत सेप्टेम्बरदेखि प्रत्यक्ष वार्ता जारी छ, तर प्रगति निकै सुस्त छ ।

अमेरिकामा गत जनवरी २० मा आएको राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले गत वर्ष तालिबानसँग अमेरिकाले गरेको शान्ति सम्झौताको समीक्षा गर्ने बताएको छ । अफगानिस्तानमा पछिल्लो समय जारी हिंसाप्रति अमेरिकी प्रशासनले निन्दा एवं भत्र्सना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV