२० माघ २०७७, मंगलवार
  • नन्दराम खड्का

रोल्पा, २० माघ । रोल्पामा समुदायले पैसो उठाएरै मावि विद्यालय सञ्चालन गरिरहेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ यारीमा रहेको बालकल्याण मावि समुदायको प्रत्येक घरधुरीबाट मासिक १५० रुपैयाँ उठाएर बालबालिका पढाइरहेको स्थानीयहरुले गुनासो गरेका छन्।

२०३७ शाल स्थापना स्थापना भएको विद्यालय २०६६ सालमा निमावि र २०७१ शालमा मावि बनाइएको थियो। विद्यालयमा २०० जना विद्यार्थी र १० जना शिक्षक रहेका छन्। १० जना शिक्षक-शिक्षिकामध्ये ३ जना बाहेक सबै निजी श्रोतअन्तर्गत अध्यापन गराइरहेको शिक्षक किरण गिरीले जानकारी दिए।

त्यस बाहेक बाँकी शिक्षक-शिक्षिकाहरुलाई समुदायले नै मासिक रुपमा पैसा उठाएर विद्यालय चलिरहेको छ। विद्यार्थीहरुले सरकारी विद्यालयमा निःशुल्क पढ्न संविधानले नै प्रत्याभूत गरे पनि यारी र आसपासका गाउँका विद्यार्थीहरुले भने निजी विद्यालयमा जसरी मासिक पैसा तिरेर पढ्नुपरेकाे छ।

सरकारी विद्यालयको यस्ताे हविगत देख्दा देख्दै पनि स्थानीय सरकार त्रिवेणी गाउँपालिकाले शिक्षकरुलाई पारिश्रमिक दिन श्रोतको व्यवस्थापन नगरेको स्थानीय थमन बहादुर बुढामगरले गुनासो गरे।

यसरी विद्यालयजस्तो संवेदशील क्षेत्रमा स्थानीय सरकारले लगानी नगर्नुले समयमै पारिश्रमिक नपाउने शिक्षकहरुले जागिर छोड्ने र वर्षमा धेरैपटक यो प्रक्रिया दोहोरिने हुँदा विद्यार्थीहरुको पढाइमा समेत समस्या आउने गरेको स्थानीयको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV