१९ माघ २०७७, सोमबार
  •  हरिशंकर शर्मा

वीरगन्ज (पर्सा), १९ माघ । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवीले आफ्नो योजनामा हस्तक्षेप गरेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गरेकी छिन् । आफ्नो मातहतको विकास निर्माण भएका योजनाहरुको बिल पास नगरेको तथा आफूलाई जानकारी नै नदिई आफ्ना योजना अन्य ठेकेदारलाई दिएको भन्दै उपाध्यक्षले निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश सिंहलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेकी हुन् ।

गत वर्षदेखि नै निर्माण भएका योजनाहरुको बिल पास नगरेको, विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन, प्रशारण भएका विज्ञापनहरुको भुक्तानी नगरेको तथा यस वर्षको योजना बुकमा उपाध्यक्षको योजना समावेश नगरे पश्चात उपाध्यक्ष यि समस्याहरुलाई बुझ्नका लागि कार्यकक्षमा बोलाउँदा आलटाल गरेको र पछि आएर उल्टै आफैलाई झपार्दै कहिलेपनि कार्यालयमा उपस्थित नहुने गरेको र माइनेटमा हस्ताक्षर नगर्ने गरेको भनेर अपशब्द प्रयोग गरे पश्चात आफूले निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको उपाध्यक्ष कुशमी देवीले जानकारी दिइन् ।

यता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश सिंहले आफूमाथि कुनै किसिमको हातपात नभएको भन्दै त्यो झुठो खबर रहेको बताएका छन् । उनले उपाध्यक्ष कुशमी देवीले आफ्नो विकास निर्माणको योजनाहरुको बारेमा बुझ्नका लागि कार्यकक्षमा बोलाए पश्चात आफूले एक्लै केही गर्न नसकिने भएकोले कार्यापालिकाको बोर्ड बैठकमा नियमित आउनुस्, आफ्नो करा राख्नुस्, गाउँपालिका प्रमुखलाई आफ्नो कुरा राख्नुस्, मैले सहयोग गर्छु भने पश्चात विवाद उत्पन्न हुन थालेपछि आफू त्यहाँबाट हिँडेको र पछि उनीले मनगढन्त कहानी बनाएको बताए ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले गाउँपालिका उपाध्यक्ष र नित्तिम प्रमुख प्रशासकीय अधिकृतबीच विवाद मात्रै भएको बताए । योजनाको विषयलाई लिएर दुबै जनाबीच विवाद भएको भन्दै त्यहीबारे छलफलका लागि दुबै पक्षका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयमा बोलाइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV